काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् ।
भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किनुभएको हो ।
उहाँको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर लगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरु विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगाएका थिए ।













