काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् ।
शुक्रवार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना गरी गर्दै प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको छ । अब प्रसारण लाइन परियोजनामा नयाँ टेन्डर आह्वान हुने छ ।
टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि एमसीए नेपालले प्रक्रिया रद्द गर्ने प्रस्ताव गरेको थियो । एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको एमसीए नेपालले बताएको छ ।
एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर टेन्डर खुला गरेको थियो। जसको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी हो ।
गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए ।