• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सांसदहरु भन्छन्: चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो दिएन



संघीय संसद

काठमाडौँ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले मिटरब्याज पीडितहरुलाई पनि सरकारले थप पीडाबाहेक अरु केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘अहिले चाडबाडका बेला कालो बजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ । चाडपर्वमा महंगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुपताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन । त्यसरी नै अहिले मुलुककी संहिता अन्तरगत मिटरब्याज पीडितहरु झन पीडामा परेको अवस्था छ ।’

चाडबाडका बेला सार्वजनिक सवारी साधनले यात्रुलाई ठग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण हुनेगरी अनुगमनको कामलाई व्यवस्थित बनाउन सांसद विमला सुवेदीले सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले समयमै कालो बजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पार्न नदिन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद सुवेदीले भन्नुभयो, ‘चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरुमाथि ठगी हुने गरेको छ । बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । ’

बैठकमा बोल्दै सांसद मनिष झाले जनकपुरमा हत्या गरिएकी आरती साहलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।