• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’



त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।

देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ ।

राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।

देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो । “विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमश: सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो”, उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्यरूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताउनुभयो ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उहाँले बताउनुभयो ।

कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुनसक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताउनुभयो ।

पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकासलगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कुमसोतलाई जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताउनुभयो । रासस