७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम
फाईल फोटो
अ+ अ-

चितवन : जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ ।

छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो । केरामा रोगको उच्च जोखिम भएपछि व्यवसायीलाई केरा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले व्यवसायी र कृषकबीचको अन्तक्र्रिया आयोजना गरी केरा र बिरुवा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरेको हो ।

केरामा लाग्ने पानामा टिआर–४ नियमनका लागि सिफारिस गरिएको प्राविधिक आचारसंहिता पूर्णरूपमा पालना गरेमा यो रोग भित्रन नसक्ने भन्दै कार्यालयले किसान र व्यवसायीलाई नियमको पालना गर्न अनुरोध गरेको छ । जिल्लामा अहिलेसम्म नदेखिएको भए पनि यहाँ यसको सङ्क्रमण हुने जीनाइन जातका केरा लगाइएकाले सावधानी अपनाउन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले छिमेकी जिल्लामा आइसकेका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी ईन्द्रप्रसाद ढुङ्गानाले अहिलेसम्म जिल्लामा यो रोगको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन अनुरोध गर्नुभयो । केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका केरा जोनका संयोजक विष्णुहरि पन्तले यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो हुने भन्दै उच्च सतर्कता अपनाउन सके रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला भित्रने केराहरू पात र डाँठबिना भित्र्याउनुपर्छ ।” माटो, केराको डाँठ र पातबाट सर्ने भएकाले केरा आयात गर्दा यी कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अब हामी चाँडै नै नाकामा जाँच सुरु गर्छौँ ।” केरा लिएर बाहिरी जिल्लाबाट आएका ढुवानीका साधनलाई १० प्रतिशत बिल्चिङ पाउडरले निसङ्क्रमण गर्न नाका–नाकामा काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । केरा उत्पादक सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले बाहिरबाट ल्याइने र जिल्लाभित्रबाटै ल्याइने केरालाई समेत प्याकिङ गरेर ल्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो । व्यवसायीले समेत यस कुरालाई कडाइका साथ पालना गर्ने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख धनबहादुर थापाले भारतबाट गानो ल्याइएका बिरुवामा यो सङ्क्रमण देखिएको बताउनुभयो । चितवनमा अहिलेसम्म नदेखिए पनि उच्च सावधानी अपनाउन जरुरी रहेको उहाँको भनाइ थियो । जिल्लामा अन्य जिल्लाबाट गानो ल्याएर किसानले खेती नगरेका कारण अहिलेसम्म देखा नपरेको उहाँले बताउनुभो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेलले महामारी कतिखेर हुन्छ भन्दा पनि हुनै नदिनका लागि आफूहरू लागिपरेको बताउनुभयो । राज्यका निकायबाट यसलाई भित्रन नदिनका लागि कार्यालय लागिपरेको भन्दै व्यवसायी र किसानले समेत यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यका निकायसँग हामीले सल्लाह गरेका छौँ । सावधानी अपनाउनुपर्छ ।” पानामा (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो । यो रोग नेपालमा पहिलोपटक टिकापुरमा देखिएको थियो । त्यसपछि अहिले त्रिवेणीमा देखिएको छ । यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । ‘पानामा’ (टिआर–४) ले खासगरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातमा आक्रमण गर्ने गर्दछ । जिल्लामा जीनाइन जाताको केराखेती गरिँदै आइएको छ ।

यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्दछ । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएको छ । जसमध्ये चार सय हेक्टर क्षेत्रफलमा जीनाइन केरा लगाइएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार विसं २०७२/७३ बाट चितवनमा यो जाताको केराखेती गरिँदै आइएको छ । कार्यालयका अनुसार हाल चितवनमा सात सय १२ जना व्यावसायिक किसान रहेका छन् । हालसम्म जिल्लामा दुई लाख ८० हजार बोट जीनाइनका बिरुवा वितरण गरिसकिएको छ ।रासस