१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडः पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा



अ+ अ-

नेपालका खेलाडीहरूले भरमग्दुर प्रयत्न गरे पनि चीनको हान्झाउमा जारी एसियाडमा कुनै पनि खेलमा नेपाली खेलाडीले पदक ल्याउने सम्भावना झिनो बन्दै गएको छ । बिहीबारका खेलहरूमा नेपालको प्रदर्शन निम्न बमोजिम छः

पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

हाङझाउमा नेपाल जारी १९औं एसियाली खेलकुदमा पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ । बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनिल जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए । प्रिन्सले २१–८, २१–१४ र सुनिल २१–११, २१–७ ले हराउँदै अग्रता बनाए । तर, विष्णु कटुवालले एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो ।

विष्णुले उक्त खेल २१–२३, २४–२२, १७–२१ ले गुमाए । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएनन् । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हराए । महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि प¥यो ।

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले पराजि भएपछि माल्दिभ्स जित नजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोली हार बेहो¥यो ।

दोस्रो खेलमा बक्सर रबिन पराजित

नेपालका बक्सर रबिन थापा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् । हानझाओ जिम्नाजियममा भएको बक्सिमा पुरुष ४५–५१ केजी तौलसमूहको अन्तिम १६ को खेलमा थापा उत्तर कोरियाका बक्सर चोनरियोङसँग ५–० ले पराजित भएका हुन् । पहिलो खेलमा इन्डोनेसियाका कोइबानु डियोलाई हराउँदै सुखद सुरुआत गरेका थापाको चुनौती पनि अन्तिम १६ पार गर्न सकेन । जारी एसियाडमा बिहीबारसम्म एक फाइट जित्ने उनी पहिलो बक्सर हुन् । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब दुई खेलाडीले खेल्न बाँकी छ ।

महिला ५७ केजीमुनि तौलसमूहमा चन्द्रकला थापाले अन्तिम १६ मा थाइल्यान्डकी बुएपा पोन्र्टिपसँग खेल्नेछिन् । महिला ७५ केजीको क्वार्टरफाइनलमा सरस्वती रानाले भियतनामकी लु डिइमसँग खेल्दैछिन् । चन्द्रकलाले शुक्रबार र सरस्वतीले शनिबार आ–आफ्नो प्रतिस्पर्धा चुनौती प्रस्तुत गर्ने तय छ ।

पुरुष स्क्वास टोली भारतसँग पराजित

नेपालको पुरुष स्क्वास टोली जारी १९औं एसियाली खेलकुदमा भारतीय टोलीसँग पराजित भएको छ । एचओसी स्क्वास कोर्टमा बिहीबा भएको पुरुष टिम गेममा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको हो । सिंगल्सको पहिलो खेलमा अमृत थापामगरले भारतका अभय सिंहसँग ११–२, ११–४ र ११–१ ले हार बेहोरे । अर्को खेलमा अराहन्त केशर सिंहले महेश मान्गोनकरसँग ११–२, ११–३ र ११–३ ले पराजित भएपछि भारतले २–० अग्रता लियो । तेस्रो खेलमा पनि अमिर ब्लोनले हरिन्दर पाल सिंहसँग ११–१, ११–२ र ११–६ ले भएपछि भारतले ३–० को सोझो सेटमा नतिजा आफ्नो बनायो ।

अनुशिया हिटबाटै बाहिरिन्

पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिइन् । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा उनले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । हिट एकमा प्रतिस्पर्धा गरेकी अनुशियाले आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सकिनन् । उनी समग्रमा २६औं स्थानमा रहे ।

टेबल टेनिसमा नविता र सिख्खा पराजित

टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नविता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित भएका छन् ।

नविता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित भइन् । मनिकाले नवितालाई ११–५, ११–४, ११–३, ११–२ ले हराइन् । महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित भइन् । मिउ हिरानोले सिक्कालाई ११–५, ११–४, ११–३, ११–२ ले पराजित गरिन् । यस्तै महिला डबल्समा पनि नविता र सिक्काकै जोडी पराजित भए । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित भए । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित भए ।

फेन्सिङः पुरुष र महिला टिममा पराजित

एसियाडअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएको छ । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

महिला फुटबलः नेपाल र बंगलादेशको बराबरी

महिला फुटबलमा बिहीबार बंगलादेशसँग १/१ को बराबरी खेलेको छ ।

रेखा पौडेलले खेलको अन्त्यतिर गोल गरेपछि नेपालले बंगलादेशसँग बराबरी गरेको हो । समूह ‘डी’ को खेलमा बंगलादेशले पहिलो हाफमा अग्रता लिएको थियो । तर, नेपालले अन्तिम समयमा पुनरागमन ग¥यो । सबिना खातुनले ४४औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा पछि परेको नेपालका लागि रेखाले ८२औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काइन् ।

नेपाल र बंगलादेशले यस अघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टोली यसअघि जापान र भियतनामसँग पराजित भएकी हुन् । पहिलो खेलमा भियतनामसँग २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्वविश्व विजेता जापानसँग भने ८–० को फराकिलो हार सामना ग¥यो । नेपाली महिला फुटबल टोली पहिलोपटक एसियाडमा सहभागी भएको हो ।

गल्फः पहिला दिन सन्तोषजनक प्रदर्शन

गल्फको व्यक्तिगत स्पर्धामा नेपालले बिहीबार सन्तोषजनक खेल प्रदर्शन गरेको छ ।

पार ७२ को वेस्ट लेक इन्टरनेसनल गल्फ कोर्समा पहिलो दिन शुक्रबहादुर राईले दुई अन्डर ७० खेले । उनी समग्रमा ३१औं स्थानमा छन् । नेपालले पदकको आशा गरेको सद्भाव आचार्यले एक अन्डर ७१ र सुवास तामाङले इभन पार ७२ मा पहिलो दिनको खेल सकाए । सद्भाव समग्रमा ३८औं र सुवास ४७औं स्थानमा छन् । दुई ओभर ७४ खेलेका युवराज भुजेल ५८औं स्थानमा छन् ।

पुरुषतर्फ पहिलो दिन शीर्ष स्थानमा रहेका कोरियाका जाङ युविनको ११ अन्डर ६१ स्कोर छ । महिला एकलतर्फ सुस्मा सिग्देल १६ ओभर ८८ स्कोरका साथ समग्रमा ३६औं स्थानमा छिन् । २० ओभर ९२ खेलेकी कस्मिरा शाह समग्रमा ३८औं स्थानमा छिन् । महिलातर्फ ३९ खेलाडी सहभागी गल्फमा शीर्ष स्थानका रहेकी जापानकी बाबा साकीको सात अन्डर ६५ स्कोर छ । ( रा खे प को सहयोगमा )