२७ मंसिर २०८२, शनिबार
,
Latest
राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’ नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज



अ+ अ-

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै तीज पर्व पनि आजैदेखि समापन भएको छ । रासस