१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज



अ+ अ-

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै तीज पर्व पनि आजैदेखि समापन भएको छ । रासस