• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

जातीय एकता र धार्मिक सहिष्णुताको प्रतीक बन्दै तीज



भक्तपुर । ‘लायो लायो मोहनी लायो है सानु जिम्बल बा को छोरीले ज्यान खायो’ बोलको लोक गीत बजिरहेको थियो । पाँच तले मन्दिरको प्राङ्गणमा टौमढी युथ क्लबले आयोजना गरेको तीज विशेष सांस्कृतिक कार्यक्रममा झण्डै दुई सय महिला नाचिरहेका थिए ।

रातो पहिरन, गलामा झपक्क रातो पोतेले भरिएको तिलहरी, हातभरि रातो चुरा, हत्केलामा मेहन्दी, निधारमा टीका, सिउँदोभरि छपक्कै सिन्दूर । बर्तालु महिलाको यो भीडमा अविवाहितको पहिरन पनि उस्तै मात्रै सिउँदो खाली । दिनभरि थरीथरीका गीत घन्किरहेका थिए, नजिकै दत्तात्रय मन्दिरमा दर्शन गरेर आएका बर्तालु महिला आफैँ मग्न भएर स्वतन्त्ररूपमा कोही नाचिरहेका थिए, कोही टिकटक बनाइरहेका थिए ।

कोही नाच्न पुगेर फर्किरहेका थिए, कोही आउँदै थिए । यहाँ कुनै जातजाति, भाषाभाषी र धर्मसंस्कृतिको एकात्मकता थिएन, यहाँ नाच्ने बर्तालु महिलामा ब्राह्मण, क्षेत्री मात्रै थिएनन्, नेवार, लामा, राई, लिम्बू, मधेसी, दलितलगायत सबै जातजातिका महिला थिए, हिन्दू धर्मावलम्बी मात्रै थिएनन्, त्यो भीडमा नाच्ने, रमाउने बौद्ध धर्मावलम्बी, मुस्लिम र इसाई पनि मिसिएका थिए ।

केही वर्ष अगाडिसम्म हिन्दू धर्मावलम्बी ब्राह्मण, क्षेत्रीका महिलाले मात्रै मनाउने चाडका रूपमा लिइने तीजमा पछिल्लो समयमा विभिन्न जातजाति र धर्मका नयाँ पुस्ताका महिला पनि जोडिएका छन् । उनीहरूले तीजलाई जातीय एकता र धार्मिक सहिष्णुताका रूपमा मनाउन थालेका छन् । टौमढी युथ क्लबका निवर्तमान अध्यक्ष विजयप्रसाद धौभडेलले १० वर्ष अगाडिदेखि तीजका दिन क्लबले पाँचतले मन्दिर अगाडि आयोजना गर्ने तीज विशेष सांस्कृतिक कार्यक्रममा फरकपन देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्ष अगाडिसम्म ब्राह्मण, क्षेत्री मात्रै यो कार्यक्रममा देखिन्थे, तर अहिले सबै जातजाति, भाषाभाषी र धर्मसंस्कृति मान्ने महिला आएर नाचिरहेको व्रत बसेको देख्न पाइएको छ । यो खुल्ला कार्यक्रम हो, यहाँ निःशुल्क तीज मनाउने व्यवस्थापन गर्दै आएका छौँ ।” उहाँका अनुसार पछिल्ला वर्षमा नेवार समुदायका महिला पनि तीजको व्रत बस्न थालेको, तराई मूलका नागरिक पनि व्रत बस्न थालेको देख्दा यो परम्पराले जातीय एकता र फरक धर्म, कला, संस्कृतिलाई आत्मसात गर्ने गरेको नयाँ पुस्तामा पाइएको छ ।

विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी मनिषा यादव विगत तीन वर्षदेखि तीजको व्रत बस्नुभएको छ । उहाँले तीज पनि मान्ने, छठ पनि मान्ने भन्दै सबैको धर्म, कला, संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताउनुहुन्छ । सूर्यविनायक बस्दै आएकी सवना खातुन पनि दर खाएर परिवारको सुखका लागि आज व्रत बसेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँगै बसेर दर खाएँ, यस वर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, हामी हाम्रै अल्लाहलाई सम्झेर व्रत बस्छौँ, हाम्रो धर्ममा यो परम्परा नभएपछि छिमेकीलाई साथ दिएका छौँ, साँझ बत्ती बालेर खाना खान्छौँ ।” नेवार समुदायको नयाँ पुस्तामा पनि धेरै महिला केही वर्षयता तीजको व्रत बस्ने परम्परा सुरु गरेको बताउनुहुन्छ सूर्यविनायक नगरपालिका–९ नंखेलकी तारा श्रेष्ठ । उहाँले भन्नुभयो, “नेवार समुदायमा दर खाने, तीजको व्रत बस्ने परम्परा छैन, तर तीजको रौनक देख्दा र यसको महत्त्व बुझ्दा व्रत बस्न मन लाग्यो, तीजको व्रत श्रीमान् र परिवारको सुख, शान्तिका लागि हो भन्ने थाहा पाएपछि गत वर्षदेखि नै व्रत बस्न थालेकी छु ।” छिमेकी पार्वती शर्माले तीजको व्रतका बारेमा बताएपछि गत वर्षदेखि उनीहरूसँगै धेरै नेवार महिला पनि तीजको व्रत बस्न थालेको बताउनुहुन्छ ।

भक्तपुरमा यसवर्ष बाहुन, क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिकरूपमा तीज मनाएका छन् भने हिन्दूसँगै अन्य धर्मावलम्बीले पनि तीज मनाएका छन् । आजको दिन भक्तपुरको दत्तात्रय, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्ेश्वर, सुवर्णेश्वर, डोलेश्वर, आशापुरी, नन्दिकेश्वर, लटरम्बेश्वर, कैलाशनाथ, यातु महादेवलगायत जिल्लाका विभिन्न मन्दिरमा बर्तालु महिलाको भीड लाग्नुको साथै नाचगान गर्दै तीज मनाएका छन् ।

रमेश गिरी/रासस