• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन



फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।

आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताउनुभयो ।

विसं २०७८ कात्तिकमा अस्पतालमा रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र रु पाँच करोडमा सघन उपचारकक्ष शय्या (बेड) स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिल्ला अस्पतालमा आइसीयू सञ्चालनमा रहेको भए महामारीमात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठूलो राहत पुग्ने उहाँले बताउनुभयो । आइसीयू उपकरण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट बञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दु:खद् अवस्था भएको उहाँको भनाइ छ ।

प्राविधिक जनशक्ति अभावकै कारण आइसीयू सञ्चालनमा नआएको जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताउनुभयो । उहाँका अनुसार बालबालिकाका लागि मात्र प्रयोग गर्न मिल्ने उपकरण भएको र उपलब्ध उपकरण प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको हो । पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यकता परे उपकरण सञ्चालन गर्न सक्ने दक्ष चिकित्सक उपलब्ध भए पनि उपकरण चलाउन अर्थात् आइसीयू सञ्चालनमा ल्याउनका लागि प्राविधिक जनशक्तिकै आवश्यक हुने उहाँले बताउनुभयो ।

यस्तै आइसीयू सञ्चालनका लागि प्रदेश सरकारसँग कुरा राख्दा प्राविधिक जनशक्ति उपलब्ध गराउन नसक्ने जवाफ पाएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताउनुभयो । प्रदेश सरकारले जनशक्ति उपलब्ध गराउन नसक्ने भएपछि समितिमा निर्णय गरेर सङ्घीय सरकारसँग माग गर्ने योजना बनाउँदै गरेको उहाँले जानकारी दिनुभयो ।

आइसीयू सेवा अभावकै सेवाग्राही जिल्ला बाहिर जानुपर्ने बाध्यता एवं कतिपयले ज्यानसमेत गुमाउनुपरेको बताइएको छ । रासस