९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

तीज: मौलिकता गुम्दै, विकृति मौलाउँदै

तीज: मौलिकता गुम्दै, विकृति मौलाउँदै
अ अ+ अ-

गलेश्वर । हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरीलै ।

केही वर्षअघिसम्म हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासू–ससुरा र श्रीमान्को खटनले मन लागेका बेलामा माइत जान नपाइएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । तर पछिल्लो समय यो चलन र गीत हराउँदै गएका छन् ।

तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले बताउनुभयो । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको उहाँको गुनासो छ ।

उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुभयो, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदु:ख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु । आजभोलि तीजका गीत सुन्दा तीजका हुन् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दु:खसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उपाध्यायले अनुभव सुनाउनुभयो । “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ”, उहाँले भन्नुभयो ।

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्तादेखि नयाँ पिँढीका महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँले पनि चाडपर्वका नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुभयो । महिला अधिकारकर्मीसमेत रहनुभएकी बानियाँले भन्नुभयो, “तीज वर्षभरिको दु:खसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”

महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्यले पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्‍याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “चाडपर्व, संस्कृति र पहिचानलाई बचाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामीले तीज पर्व महिला दिदीबहिनीका लागि दु:ख बिसाउने पर्व भएको बताउनुभयो । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।

“तीज आउनु एक महिनाअघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे”, फगामीले भन्नुभयो, “अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”

त्यस्तै, डम्मराकी प्रिया कार्कीले नेपाली नारीहरुका लागि तीज पर्वको महत्व धेरै रहेको बताउदै यो पर्व मनाउँदा महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने बताउनुभयो । तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने उहाँको भनाइ थियो ।

“आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्”, कार्कीले भन्नुभयो, “विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको ज्यामरुककोट बगरफाँटकी शिव घिमिरेले बताउनुभयो ।

“आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्यौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिने भन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन”, उहाँले भन्नुभयो । पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो । रासस