२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कथाकारहरुको कथा

कथाकारहरुको कथा
अ अ+ अ-

“ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् ।

“त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई महान् आख्यानकारमा दर्ज गराउन तम्सिएको छ । त्यस्तो पनि कथा हुन्छ ।” मात्तिएको स्वरमा अलि प्रौढ देखिने अर्को कथाकार । भट्टीमा काम गर्ने केटो अघिको माग पूरा गरेर फर्किन लाग्छ । अर्को लर्बराएको स्वरमा मागपत्र पेस गर्दछ, ‘भाइ, टेबुलमा राम्रोसित हेर्नुपर्दैन र? खोइ सितन र? चार प्लेट चिकन फ्राई, छिट्टै । साहूजी खै र? यति ठूलाठूला मान्छेहरू यहाँ आएका छन् । नमस्ते गर्न आउनुपर्दैन ?’ केटो बोल्दैन । सायद अभ्यस्त छ ऊ । यस्ता जँड्याहाहरू कति आउँछन्, कति । अनुहारमा कुनै भाव छैन । किचनतिर कदम बढाउँछ ।

‘त्यो समालोचक, नाम के रे र? प्राध्यापक पनि हो । आफूलाई नेपालको सबैभन्दा ठूलो समीक्षक भन्दै हिँड्छ अरे । हाम्रो किताबका बारेमा कतै पनि चर्चा गर्दैन यार ! त्यसको सेखी झार्नुपर्‍यो । तेस्रो बोल्छ । कतातिर सङ्केत गर्न खोजेको हो, कसैले मेसो पाउँदैनन् ।

जनयुद्धको सौन्दर्यका बारेमा हामीले पनि युद्धकथा लेख्नुपर्‍यो । जनयुद्ध गर्ने एउटा, युद्धकथा लेखेर मालामाल हुने अर्कै । होइन यो देशमा के भएको हो र? चौथो आफ्नै राग अलाप्छ । साथीहरू, हामी सबै बोलिरहेका छौं । सुन्ने मान्छे चाहिँ को हो रु सबै नेता बन्न तम्सिएका छौँ, कार्यकर्ता खोई ?’ थोरै पिउने एउटा पातलो पात्र अलि गम्भीर कुरा गर्न तम्सिन्छ ।

यसलाई सधैँभरि बाठो हुनुपर्छ । हामीले बोलेको हामीले सुनेका छौँ । हामीले लेखेको हामीले पढेका छौँ । आफैँ वक्ता, आफैँ श्रोता । हामी स्वयम् नेता, स्वयम् कार्यकर्ता । बढी बोल्ने होइन हैं ‘‘।। एउटा वाईसीएल शैलीमा गर्जिन्छ । पातलो पात्र मौन । सायद सम्भावित दुर्घटनालाई निम्ता गर्न चाहँदैन ।

एकछिनको सन्नाटा । रित्ता ग्लासहरू आवाद हुन्छन् । टेबुलमा चार प्लेट चिकेन फ्राई हाजिर । सबै सक्रिय हुन्छन् । गिद्धका पनि हजुरबाउजस्ता लाग्छन् । दुर्भिक्षको न्यानो स्नेह पाएका शरणार्थी जस्ता लाग्छन् । एकैछिनमा बोतल खाली, प्लेट पनि सुनसान । मुखामुख गर्छन् तृप्ति अझै टाढा भएझैं । अगस्तिहरू जम्मा भएझैं ।

“थप्ने हो ? ” एउटा पात्र ।

“आफूलाई त छोएकै छैन । १५ दिनमा बल्ल मौका पाइएको छ ।”

“दसजना कथाकारहरू जम्मा भएर जम्मा छ क्वाटर मात्र उदरस्थ गर्दा राष्ट्रको अपमान हुँदैन ? हाम्रा अग्रजहरू बिहान १० बजे पिउन बसेपछि राति २ बजेमात्र अनुष्ठान सम्पन्न गर्थे अरे । जति धेरै सोमरस पान गरिन्छ उति ठूलो सर्जक भइन्छ भन्ने कुरा बुझ्नुपर्दैन ?” अर्को थपिन्छ । “आज हामी कसको निमन्त्रणामा आएको ?” अहिलेसम्म मौन बसेको पात्र मुख खोल्दछ ।

“कथाको बारेमा व्यापक बिचार विमर्श गरौँ र गेट् टुगेदर पनि होस् भनेर मैले यो कार्यक्रम बनाएको हुँ । मित्रको सोचाइको आशय ? ” आयोजक बोल्दछ । ” मलाई त केही पनि थाहा थिएन । आज कुन बेबकुफ मुर्गा हुनेभएछ भनेर जान्न चाहेको ।” उही जिज्ञाशु ।

“मुर्गा ‘.हा‘।।हा‘।।हा‘।।म मुर्गा हुने अरे । म मुर्गा होइन, दुर्गा मित्तल हुँ । पित्तलको कारखाना छ । मेरो पित्तल बजारमा पुगेपछि सुन हुन्छ । तिमीहरूजस्ता दुई कौडीका कथाकारहरूलाई टन्न सोमरसपान गराउन पाउँदा मलाई आनन्द हुन्छ । बेबकुफ म होइन । फोकटमा खान पाइयो भनेर दगुर्ने पो ‘‘।।”

“दुर्गाजी, तपाईंलाई पनि तीन प्यागले नै छोयो । हामीलाई अन्टसन्ट भन्नुभन्दा अगाडि तपाईंले तीनपटक सोच्नुपर्दैन । लोटा लिएर दक्षिणबाट उत्तर पसेका होइनन् तपाईंका बराजु ! धरातल बिर्सनु भयो ?’ अलि स्वाभिमानीजस्ता लाग्ने कथाकार थामिएनन् ।

“विवेकजी, क्षमा पाउँ । म आफूलाई जे भने पनि सहन तयार छु, कसैले मुर्गा भन्यो भने बर्बण्डी खलबलिन्छ क्या ।”

“भयो, भयो, यो कवाफमा हड्डी कहाँबाट आयो ? त्यता नजाउँ । दुर्गाजीको उदारतालाई मान्नुपर्दछ लक्ष्मीपति भएर पनि सरस्वतीपुत्रहरूलाई माया गर्नुहुन्छ । धेरै धनीहरू छन् यो सहरमा, खोइ अरूले हामीलाई वास्ता गरेको । जहान छोराछोरी रुवाउने लहडीहरू भन्छन् हामीलाई । अनुत्पादक मान्छन् साहित्यलाई । बरू आजको मूल एजेन्डा के थियो रे ? विवेकजी, मैले पनि बिर्सिएँ । लागेछ ।’ सहजकर्ता जन्मियो ।

“खाएपछि लाग्छ नि शरदजी । आजको हाम्रो एजेन्डा हो-वर्तमान अबस्थामा हाम्रो कथाकारिताको दिशा कुन हो ?”

“विवेकजी, यति गम्भीर विषय रहेछ । नपिउँदै छलफल गर्नुपर्ने ।”

“केही फरक पर्दैन । होसमा भन्दा बेहोसमा मान्छेले सत्य कुरा बोल्छ ।”

“लौ त आजको बहसको श्रीगणेश विवेकजीबाटै जाओस् ।” एउटा स्वर ।

“साथीहरू, हामी सबै कथाकार । कथाकारहरूको कथा यस्तो छ । हामीजस्ता प्रबुद्ध वर्गको गति यस्तो भएपछि हाम्रो वाङ्मयको प्रगति कस्तो होला ?” “भाषण छाट्न भनेको होइन । वस्तुगत भएर कुरा गरौं । विवेक नाम हुनेले नै विवेक पुर्‍याउँदैनन् । हाम्रो के कुरा ।”

“ठीक छ प्रतापजी, मैले मित्रको आशय बुझें । मलाई पनि थाहा छ, हामीजस्ता मान्छेहरूलाई कसैले पनि सम्झाउन सक्दैन । स्वव्यवस्थापन कमजोर भएपछि निस्कने परिणाम यही हो । हाम्रो कथाकारिता, हाम्रो आख्यान कतातिर गइरहेको छ ? हामी कस्तो कथा सिर्जना गरिरहेछौँ ? साथीहरू पालैसित आ-आफ्नो धारणा राख्नुहोस् । त्यो छेउबाट सुरु गरौं । ल सुरेशजीको पालो ।” यतिञ्जेल मौन रहेको पात्र आफ्नो नाम सुनेपछि झसङ्ग हुन्छ । केही सोचेजस्तो गर्दछ । अलिकता खोक्दछ । सायद घाँटी सफा गर्दैछ । बोल्छ, “म बोल्नमा भन्दा सुन्नमा आनन्द मान्ने मान्छे । त्यतिधेरै ज्ञान छैन । सानो मान्छेको सानो कुरा । बजारमा आएका कथासङ्ग्रहहरू पढ्दा प्रायः कथाहरूमा अँध्यारो पक्ष हावी भएको पाउँछु । महिला स्रष्टाहरूको आख्यान पढियो भने पुरुष पात्रलाई पूरै खलनायक बनाइएको हुन्छ । कुनै कथामा सकारात्मक पुरुष चरित्र पाइँदैन । पुरुषले लेखेको कथामा नारीलाई अबला सावित गर्न खोजिएको हुन्छ । महलमा बस्नेहरू झुपडीको कथा लेखेर गोहीको प्रवृत्ति प्रदर्शन गरिरहेछन् । कताकता, केके नमिलेझैं लाग्दछ । हामी कथामा आदर्श छाट्दछौँ । हाम्रै व्यवहार यस्तो छ । म त चारैतिर विरोधाभास मात्रै देख्दछु । यो विषयमा, यस्तो ठाउँमा, हामीजस्ता मान्छेहरू मात्र जम्मा भएर छलफल गर्ने होइन कि रु मेरो भन्नु यति नै हो ।”

“भूपेन्द्रजी, आफ्नो धारणा राख्नुहोस् ।” अनुरोध गर्दछ विवेक । “मेरो सोचाइ अलि फरक छ । हरेक कुरा विघटन भएको समय हो यो । पुराना मूल्य र मान्यताहरू खुइलिए । नयाँ जमाना आयो । सिर्जना निर्देशित हुँदैन । लेखकीय स्वतन्त्रतामाथि हमला गर्न पाइँदैन । सर्जकले जस्तो अनुभूत गर्दछ त्यस्तै लेख्छ । कलात्मक छ कि छैन, कत्तिको रसिलो छ, सीप पुगेको छ कि छैन । प्राविधिक पक्ष कत्तिको सवल छ । शब्द संयोजन कस्तो छ । यी पक्षहरू महत्त्वपूर्ण होलान् । उज्यालो र अँध्यारोका बारेमा हामीले सोच्ने होइन कि ?”

“खानेकुरा सकियो यार । भाषण मात्र सुनेर पेट अघाउँदैन । मित्तलजी, अलि तृप्त भइएन ।”

“अहो, कमलजी, माफ गर्नुहोला । म मगाउँछु । रातभर खुवाएर, पिलाएर भए पनि म मेरा मित्रहरूलाई सन्तुष्ट बनाउँछु । गणेशलाई अघाउने बनाउन नसक्ने कुबेर होइन म ।” अर्डर गर्छ मित्तल । अर्डरअनुसारका सामानहरू आइपुग्छन् । सबैको ध्यान त्यतै जान्छ । बोतल फेरि पनि रित्तिन्छ । प्लेटहरू फेरि पनि खाली हुन्छन् । काम गर्ने केटा मिसिनझैं कुदिरहेछ । लर्बराउँदै बोल्छ कपिल, “साथीहरू, म त उत्तरआधुनिक कथाकार हुँ‘‘हि‘‘हि‘।।आफ्नो त सिद्धान्तै अर्कै छ‘।।हि‘‘हि‘‘।”

” कपिलजी, तपाईंलाई लागेजस्तो छ‘‘।”विवेक सम्झाउने कोसिस गर्दछ । कपिल थामिँदैन, “खाएपछि लाग्छ, लागेपछि कसको बाउको के लाग्छ ? लागोस् भनेरै खाएको होइन ?” “कपिलजी, म हात जोड्छु । कृपया शान्त भइदिनुहोस् । मेरैलागि भए पनि ।” मित्तल निरीह बन्दछ । “मोही पिएको हो र शान्त हुने? ए‘‘मित्तलजी हो । लौ त म चुप लागे । अरू झारपातलाई म कहाँ टेर्छु ? मित्तलजी, हाम्रो अन्नदाता । तपाईं जापान, हामी नेपाल‘।।हि‘‘।हि‘‘‘।” थामिन्छ कपिल ।

“यी जँड्याहाहरूको सङ्गत गर्न नहुने रहेछ” मौन संवाद गर्छ कपिल । ” यी सालेहरू के जँड्याहा, असली जँड्याहा त म हुँ” आफैंसित, उही कपिल । “अबदेखि सालेहरूलाई निम्ता गर्दिन । जहिले पनि बबाल मात्र गर्छन् ।” मित्तल पनि भित्रभित्र मुर्मुरिएको छ । १५ बोतल रित्तिए । मासु कति प्लेट हो, थाहा छैन । सलाद र स्न्याक्स उत्तिकै ।

“कति खान सकेका हन्तकालीहरू । यिनीहरू मन्त्री भए भने देशै खान्छन् ।” मित्तलको रिस मरेको छैन । अनुहार पनि कस्तोकस्तो बनाएको छ । “मित्तलजी, रमाइलो गर्न भनेर जम्मा भइयो, सारै बोर भयो हगि ।” विवेक, रुञ्चे स्वरमा । अरू साथीहरू मुखामुख गर्छन् ।

“होइन, होइन, विवेकजी, त्यस्तो केही होइन । मजा आइरहेछ । यस्तो बेलामा हुने यस्तै हो । थोरै सत्यनारायण पूजा लगाएको हो र । जुन चीजको सङ्गत गरिन्छ त्यो चीजले आफ्नो रङ देखाइहाल्छ ।” मित्तल परिस्थितिलाई काबुमा लिने असफल प्रयास गर्दछ । अचानक भट्टीको मालिक आइपुग्छ । उसको पछाडि एउटा भुसतिघ्रे पनि छ । सायद भट्टीको मर्यादापालक होला । “सरहरू, १२ बजिसक्यो । मेरा कामदारहरू थाके । ११ बजे नै बन्द हुने भट्टी हो यो । अब यहाँहरू गइदिए धेरै राम्रो । बिल तयार छ ।” भुसतिघ्रेमाथि सबैको नजर पर्छ । सातो जान्छ । मुखामुख गर्छन् । मित्तल बोल्छ, “साहूजी, हामी स्थायी ग्राहक हौँ । आज छलफलका कारणले अलि ढिला भयो । अब हामी जान्छौँ । घरमा पनि जहानपरिवार चिन्तित भए होलान् ।”

“हो, हो, मित्तलजीले ठीक भन्नुभयो । आजलाई पुग्यो ।” कपिलको घोषणा । जम्मा ने.रु.१२,६७० भएछ । रु.३३० टिप्ससहित १३ वटा हात्ती गनिदिन्छन् मित्तल । काम गर्ने केटाको अनुहार उज्यालो हुन्छ । सबैलाई झुकेर सलाम गर्छ । “यस्ता मान्छेहरू आइरहे हुन्थ्यो” यस्तै सोच्दछ केटो । भट्टी बाहिर सबैको बाइक छ । विवेक बाइकबिहीन । मित्तलको पजेरोमा विवेकले लिफ्ट पाउँछ ।

भोलिपल्टको अखबारमा छापिन्छ, “प्रसिद्ध कथाकार कपिलदेव शर्मा अत्यधिक मदिरा सेवनका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु ।” चिया दोकानमा गफ हुन्छ, “कथाकारहरूकै कथा यस्तो भएपछि अरू मान्छेको कथा कस्तो होला ?” ” होइन, यी साहित्यकारहरू मदिरा सेवन नगरे लेख्नै सक्दैनन् ?” ” घरमै बसेर धोके पनि त हुन्छ नि । हेर, श्रीमती र छोराछोरीको बिचल्ली भएन १”

“त्यही भएर मलाई साहित्यकार देख्यो कि एलर्जी हुन्छ ।”

“पिउँदै नपिउँने लेखकहरू पनि त छन् ।”

“यी लहडीहरू अकालमा ज्यान फाल्छन् । भूपि, कटुवाल छिट्टै गए । चुरोटको कारणले महाकवि गए ।”

“यस्ता मान्छेहरू प्रायः अल्पायुका हुन्छन् क्यारे ।”

एक वर्षपछि कपिलदेव शर्माको नाममा भव्य स्मृति ग्रन्थ छापिन्छ । “शताब्दीकै महान् कथाकार” भनेर सबैले प्रशंसा गर्दछन् । “जिउँदो छउञ्जेल आलोचना मात्रै पायो, मरेपछि महान् भयो” विवेक एक्लै भुतभुताउँछ । उता कपिलको घरमा किताबको गातामा बाउको ठूलो तस्बिर देखेर सानी छोरी तोते बोलीमा आमासित प्रश्न गर्छिन्, “आमा, यो किताबले हामीलाई खान दिन्छ ?” आमाको आँखाबाट आँसु बगिरहन्छ । छोरी जिल्ल पर्छिन् । रेडियोमा समाचार आउँछ, “यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार, मरणोपरान्त, कथाकार कपिलदेव शर्मालाई प्रदान गरिने भएको छ ।”

भोलिपल्ट राष्ट्रिय पत्रिकाको शनिबारको अङ्कमा विवेकको कथासम्बन्धी एउटा लेख छापियो । लेखको सारसङ्क्षेप ः

धेरैदिनदेखि मेरो मनमा एउटा सुनामी लहर उत्पन्न भइरहेको थियो । मित्र कपिलदेव शर्माको आकस्मिक र अकल्पनीय दुर्घटनाका कारणले म स्तब्ध भएको थिएँ । हामी कथाकारहरूको कथा पनि उदेकलाग्दो छ । आफैं अनुशासनमा बस्न सक्दैनौं, कथामा मर्यादा, अनुशासन, आदर्श र नैतिकताको कुरा गर्दछौं । त्यो दिन त्यसरी सोमरसपान नगरेको भए आज मित्र कपिल हाम्रै वरिपरि हुने थिए । हाम्रो कमजोरी नै हाम्रो सर्वनाशको कारण रहेछ । त्यही दिनबाटै हामी १५ जना कथाकारहरूले मदिरा त्याग्यौँ । धूमपान पनि बर्जित । म यसै लेखमार्फत् सम्पूर्ण सोमरसानुरागी साहित्यकारहरूलाई आफ्नो आचरणका बारेमा पुनर्विचार गरियोस् भनी हार्दिक अपिल गर्दछु ।

साथै हामीले आजसम्म लेखेका कथाहरूमा यौन, दुर्भिक्ष र मदिरामात्र अन्तर्वस्तु बने । नारीदेहको मूल्याङ्कनमैं शब्दहरू विनियोजित भए । भोक र भोगकै वरिपरि लटपटियौं हामी । कथामा यौन, उपन्यासमा यौन । यो प्राकृतिक र मर्यादित कुरालाई यसरी छ्याल्लब्याल्ल पार्दा हाम्रो संस्कारमा, हाम्रो सामाजिक संरचनामा नै धक्का पुगेझैं लाग्यो । छाडा प्रवृत्तिले मलजल पाएझैं लाग्यो । अत्यन्त गम्भीर विषय हुन् यी । यिनीहरूको बारेमा अलि गम्भीर भएर सोच्ने हो कि रु बाबु र छोरीसँगै बसेर पढ्न र सुन्न मिल्ने कथा र उपन्यासहरू लेखिएमा हाम्रो साहित्यले सम्मान पाउने थियो कि ? समाजको चरित्र निर्माणमा साहित्यले महत्त्वपूर्ण भूमिका खेल्दछ ।

साहित्यमार्फत् समाजमा विद्यमान विकृति र विसङ्गतिहरूलाई न्युनीकरण गर्नुपर्ने होइन र ? आज हामी जस्तो साहित्य लेखिरहेका छौं, त्यसले सस्तो लोकप्रियता त कमाउला, रूपमा वाह, वाह पनि लुट्ला तर सारमा के होला रु चलचित्र त्यस्तै, कथा, गजल, कविता, उपन्यास सबै छाडा भएपछि हाम्रो दुर्दिन टाढा नहुन सक्दछ । हामीले आजसम्म अँध्यारोको कुरा मात्र गरेजस्तो लाग्यो । समाजभित्र औंसी मात्र छैन, पूणिर्मा पनि छ । नराम्रो मात्र छैन, राम्रो पनि छ । कतै न कतै सत्यको बास छ । नकारात्मकमात्र समाजको परिचय होइन । हामीले डाँकाजस्तो मानेको मान्छे साधु पनि हुनसक्छ ।

हामीले गुण्डा प्रमाणित गर्न खोजेको ठिटो गौतम बुद्ध हुन सक्छ । सिक्काको एउटा पाटो मात्र नहेरौं । सिमान्तीकृत वर्गका बारेमा हामी हाम्रा कथाहरूमा ठूलाठूला कुरा गर्दछौं । सिद्धान्तत:यो बेठिक नहोला । हामी कथा र कवितामा मात्र सुन्दर भएर भएन । व्यावहारिक जीवनमा पनि हामी हाम्रो कविताजस्तै, कथाजस्तै सुन्दर हुनुपर्‍यो । ‘निकृष्ट व्यक्ति, उत्कृष्ट कलम’ भन्ने उपाधि पाउनुभएन । गरिबको बारेमा चिन्तन गरेर लेख्नेले कमसेकम एउटा गरिबको सन्तानलाई शिक्षादीक्षाको अबसर दिलाउने काममा सहयोग पुर्‍याउनु पर्‍यो । मनले चाहेमा धन ठूलो कुरा होइन । जीवन सफल भएर मात्र हुँदैन, सार्थक पनि हुनुपर्दछ ।

२०६७ साल भदौ २६ गते शनिबार कान्तिपुर पत्रिकामा शेखर खरेलको लेखले यही पुष्टि गरेको छ । असल साहित्यको कुनै सिद्धान्त हुँदैन । जानीजानी हामी साहित्यलाई सिद्धान्तको दास बनाइरहेका छौं । इन्द्रेणीका हरेक रङको उत्तिकै महत्त्व हुन्छ । हामी त विभिन्न रङमा विभाजित भएर दन्तबझान गरिरहे छौं । निषेध हाम्रो संस्कृति बनिरहेछ । नारायणगढबाट पूर्व जाने बस चढेर हामी धनगढी, दिपायल, सुर्खेत र नेपालगञ्ज पुग्ने सपना देख्दछौं । धेरै हिड्छौं, कही पनि पुग्दैनौं । अरूले सानो भूल गरेमा तीललाई पहाड बनाउँछौं तर आफैँबाट कति ठूलो गल्तीभएको छ, लेखाजोखा गर्दैनौं । आत्ममूल्याङ्कन गर्ने बानी नै बसेन । नकारात्मकता हाम्रो शोधको विषय बन्यो । धोबी उद्योगमैं रमायौं ।

अरूलाई अयोग्य सावित गरेपछि मात्र आफू योग्य भइन्छ भन्ने भ्रममा रमायौं । अरूलाई नराम्रो भन्दा हामी आफैं कति राम्रो हुन्छौं, यो गणित बुझेनौं । राष्ट्र र मानवताभन्दा ठूलो कुरा केही पनि छैन । हाम्रो सिर्जनामा राष्ट्र सम्बोधन भएन, हाम्रो सिर्जनाले मानवीय संवेदनालाई स्पर्श गरेन भने कुरा बुझौं हामी मसी, कागज र शब्दहरू दुरूपयोग गरिरहेका छौं । पाइन, पाइन भनेर अरब्यरोदन मात्र गरिरहृयौं भने मानसिकरूपमा हामी टाट फर्किएछौं भनेर जाने हुन्छ ।

कमसेकम हाम्रो लेखाइ र गराइबीचको दूरी ज्यादै कम हुनुपर्‍यो । द्वैध चरित्र घातक हुन्छ । जटिल हुन्छ । जीवनको अर्को नाम सरलता हो । ‘सादा जीवन, उच्च विचार’ जहिले पनि काम लाग्ने कुरा हो । अब हामीले हाम्रा कथाहरूमा यस्ता उज्याला कुराहरूलाई प्राथमिकता दिनु पर्दछ । अब उज्यालोको कुरा गरौं ।