काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ‘ग्लोबल छनोट ए’मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ ।
आज राति ८ः३० बजे नेपाली टोली ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
ग्लोबल छनोट ए मा नेपालसमेत गरी आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म चल्नेछन् ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहँदा समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले दुबै समूहबाट सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ भने फाइनल फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि स्थान बनाउनेछन् ।
यस्तै, छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । जसमा नेपालले आयरल्यान्ड, युएई र ओमानसँग खेल्नेछ । जसलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा पनि लिइन्छ ।











