• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

तीजको मौलिकता हराएकामा चिन्ता



मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिले पहिले दिदीबहिनी माइतिघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मनसपटलमा अझै ताजै छन् । हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिदैनन्, सबै पार्टी प्यालेस र होटल जान्छन्, कसलाई वास्ता छैन यस्ता गीतकोे, मलाई त यो संस्कार नै हराउने हो की भन्ने पीर लाग्छ ।” तीज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दु:खसुखका गीत गाउँदै रमाउने गरेको उहाँ सम्झिनुहुन्छ ।

आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । त्यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको गैँडाकोटकी रीता कँडेलले बताउनुभयो । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना कँडेललाई अस्ति भर्खर जस्तै लाग्छ । हिजोआज यस्तो रमाइलो नपाउने गरेको उहाँको भनाइ छ ।

“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासेकी बढेको छ, तीज दु:ख बिर्साउने होइन खर्च बढाउने चाँड जस्तै बनेको छ, जो मलाई राम्रो लागेको छैन्”, उहाँले भन्नुभयो । ‘स्पिकर’मा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने दिँदैन भन्नुहुन्छ अर्का स्थानीय सरिता घिमिरे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दु:खसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव उहाँसँग छ तर पछिल्लो समय यसमा आएको परिर्वतन उहाँलाई राम्रो लागेको छैन् ।

“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उहाँले भन्नुभयो, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ, पहिले खानामा गुन्द्रुक, तामाको तरकारी हुन्थ्यो, अहिले त्यो स्वाद कहाँ हरायो ।”

तीज नेपाली नारीको महान् चाँड हो । यसको अर्को विषेशता नारी वेदना समेटेर गाइने गीत हो । पहिले पहिले तीज आएँसगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दु:ख र वेदनाका गीत गाउँथे । पछिल्लो समय यस्तो चलन कम हँुदै गएको छ ।

उहाँ भन्नुहुन्छ, “एक दशकअघि प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला हुन्थे, सुखदु:खका गीत गाउँथे, रमाइलो गर्थे, गाउँघरमा रमाइलो छाउँथ्यो, पीडा र वेदनका गीत पनि गाउँथे, समाजका विकृति र विसङ्गति पनि गीत मार्फत गाउँथे, पर्व एउटा सकारात्मक परिवर्तनका लागि आवाज उठाउने जस्तो थियो, पिँढीमा हुने रमाइलो अहिले पार्टी प्यालेसमा सरेको छ, दु:खसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा पुगिसकेका छन् ।”

यो सांस्कृतिक विरासतको ओरालो यात्रा भएको कतिपयको धारणा छ । नेपाली महिलाहरुले तीजलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुले नै गुनासो गरेका छन् । तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ ।

तीज आउनुभन्दा एक महिना अगाडिबाटै दर खाने प्रचलन बढेको छ । कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आज भोलि होटल र पार्टी प्यालेसमा भेटिने गरेका कँडेल बताउनुहुन्छ । उहाँका अनुसार वेदनाका गीतमा नाच्ने महिला अहिले बजारमा आएका रत्यौली गीतमा रमाउँछन् ।

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । तर तिजको समयमा यसको मौलिकता बचाउन विभिन्न सङ्घसंस्थाले राख्ने प्रतियोगिताले भने यसको संरक्षणमा थोरै भए पनि टेवा पुर्‍याएको गैँडाकोटकी सरिता सापकोटाको भनाइ छ । “प्रतियोगिता नै सही यसरी विभिन्न सङ्घसंस्थाले राखेको कार्यक्रमले हराउन लागेको संस्कारलाई बचाउने काम गरेको छ”, उहाँले भन्नुभयो । महिला दिदीबहिनीले आफ्नै वेशभूषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने अग्रजहरुको सुझाव छ । रासस