बिराटनगर । मोरङमा निषेधाज्ञाको दोश्रो दिन विहानैदेखि हिँडडुलमा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमितहरु बढ्दै गएपछि वैशाख १९ गतेदेखि लागू हुने गरी एक साताको लागि विराटनगर महानगरपालिका लगायत मोरङका केही स्थानीय तहहरुमा निषेधाज्ञा लगाइएको हो ।
अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य कसैले पनि बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । विराटनगर महानगरपालिकामा १९ गते एकै दिन २ सय जना संक्रमित फेला परेका छन् । संक्रमित हुनेको संख्या बढ्न थालेपछि रोकथाम र नियन्त्रण गर्नको लागि निषेधाज्ञा लगाइएको हो ।
बिहान १० बजेसम्म अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दुधका पसलहरु खोल्न दिइएको छ भने औषधी पसलहरुलाई कुनै रोक लगाइएको छैन । निषेधाज्ञाको उलङ्घन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।








