• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छः प्रधानमन्त्री दाहाल



लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताउनुभएको छ ।

आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’ मा नेता गिरिको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्व नेता गिरिको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले उहाँबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेकोे बताउनुभयो ।

“प्रदिप गिरि मौलिक र विलक्षण चिन्तनको धनी हुनुहुन्थ्यो । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने उहाँको आफ्नै मौलिक दृष्टिकोण थियो । जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले उहाँलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्रदिप गिरिको तुलना अरु कोहीसँग गर्न कठिन छ । उहाँको उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ ।”

त्यसैगरी नेता गिरिको निधनले आउने पुस्ताका लागि विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास रहेको उहाँले व्यक्त गर्नुभयो ।

प्रदिप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले नेता गिरिको पूर्णकदको शालिक अनावरण गर्नुभयो । समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरिको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विसं २०७० को निर्वाचनमा सिरहाले मलाई जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बनेको थिएँ । तपाईंहरूले लगाएको गुन मैले पूरै तिर्न पाएको छैन, यो पटक कुनै न कुनै रूपमा तिर्नु छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्वमन्त्रीहरू मात्रिकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शङ्कर नायके, सीतादेवी यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।

लहान–१४ को खुट्टी खोलाको छेउमा गिरि विसं २०४६ पछि बस्दै आउनुभएको ठाउँलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्व गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा गत वर्ष भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो । रासस