१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खल्लो बन्दै एसिया कपः टिकट महँगो, स्टेडियम खाली



अ+ अ-

एजन्सी । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप एसीसीको अहिलेसम्मकै सबैभन्दा विवादास्पद प्रतियोगिता बनिरहेको छ । बुधबार लाहोरमा भएको खेल गद्दाफी स्टेडियमको फ्लडलाइट नबनेका कारण करिब आधा घण्टा रोकिएको थियो ।

फ्लडलाइट लापरवाहीको परिणाम होला, तर वर्षायाममा ९ खेल आयोजना गरेको श्रीलंका, ४ खेलका लागि ३ पटक आयोजक राष्ट्रको यात्रा, खाली स्टेडियम, महँगो टिकट, आयोजनाको अन्योल र कमजोर समयतालिकाका कारण पनि यो प्रतियोगिता विवादित बनेको छ ।

यसैबीच यस एसिया कपका विवादहरुबारे यहाँ चर्चा गरौं,
१. प्रतियोगिता पाकिस्तानमा हुने थियो, भारतको कारण तालिकामा ढिलाई
सन् २०२१ मा नै पाकिस्तानले २०२३ को एसिया कप आयोजना गर्ने निर्णय गरेको थियो । सबै कुरा तय भइसकेको थियो, तर तालिका सार्वजनिक हुनुअघि नै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले भारतीय टोली पाकिस्तान नजाने बताए । पहिलो विवाद यहीँबाट सुरु भएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) बीच महिनौंसम्मको छलफलपछि जुन १५ मा पाकिस्तानसँगै श्रीलंकामा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको थियो ।

एसीसी र पीसीबीको बैठकले आयोजक पाकिस्तानमा ४ खेल र श्रीलंकामा ९ खेल खेलाउने निर्णय गरेको हो । भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ र फाइनल पनि श्रीलंकामै हुनेछ ।

२. यूएर्एलाई होस्टिङ दिइएन
पीसीबी र एसीसीले जुनमा एसिया कप पाकिस्तानका साथै श्रीलंकामा गर्ने निर्णय गरेको थियो । त्यतिबेला पीसीबीका अध्यक्ष नजम सेठीले यूएईमा प्रतियोगिता आयोजना गर्न माग गरेको बताए पनि त्यहाँ निकै गर्मी हुने भन्दै उनको माग स्थगित गरिएको थियो । जबकि अघिल्लो एसिया कप २०२२ को अगस्ट २७ देखि ११ सेप्टेम्बरसम्म यूएईमा खेलिएको थियो । गत वर्ष कुनै पनि खेलमा वर्षा वा फ्लडलाइटको समस्या नभए पनि एसीसीले लगातार तेस्रो पटक एसिया कप यूएईमा नगर्ने निर्णय गरेको थियो । २०२२ अघि, २०१८ को एशिया कप पनि यूएईमा भएको थियो ।

३. आयोजकले नै दुई देशहरूमा ३ यात्रा गर्नुपर्‍यो
६ टोलीको एसिया कप पहिलो पटक हाइब्रिड मोडलमा खेलाइँदैछ । सन् १९८४ मा सुरु भएको यो प्रतियोगिता यसअघि १५ पटक खेलिएको थियो तर दुई देशमा एकैपटक खेल भएको थिएन । यसपटक दुई देशमा खेल हुँदैछ, जसका कारण टोलीको भ्रमण बढेको छ । आयोजक राष्ट्र पाकिस्तानले पनि ४ खेलका लागि २ देशको ३ भ्रमण गर्नुपर्यो ।

४. स्टेडियम खाली
नेपाल र पाकिस्तानबीचको एसिया कपको उद्घाटन खेल ३० अगस्टमा मुल्तानमा भएको थियो तर ३५ हजार दर्शक क्षमताको यो रंगशालामा खेल हेर्न निकै कम दर्शक आएका थिए ।

आधा भन्दा बढी स्टेडियम खेलभर खाली देखियो । अफगानिस्तान–बंगलादेश र अफगानिस्तान–श्रीलंकाबीचको लाहोरमा भएको खेलमा निकै कम दर्शक उपस्थित थिए ।

५. टिकट बिक्री नभएकोमा पीसीबीले एसीसीसँग क्षतिपूर्ति माग्यो
वर्षाका कारण अहिलेसम्म २ खेल प्रभावित भएका छन्, दुवै खेल भारतका थिए । वर्षाका कारण यी खेलको टिकट कम बिक्री भएको थियो । यी बाहेक लाहोरमा भएको खेलमा पनि निकै कम दर्शक पुगेका थिए । पीसीबीले बिक्री नभएका टिकटहरूको लागि एसीसीसँग क्षतिपूर्ति मागेको बताइएको छ । भारत र पाकिस्तानबीचको आगामी खेलको टिकटको मूल्य १०० (१३ हजारमाथि) देखि १५० (१९ हजारमाथि) डलरसम्म रहेको छ । यद्यपि, अन्य खेलहरुको टिकट मूल्य भने २० देखि ५० डलरसम्म (२६५० देखि ६६२६ रुपैयाँ) रहेको छ ।

६. फ्लडलाइटका कारण खेल आधा घण्टा रोकियो
यस एसिया कपसँग सम्बन्धित पछिल्लो विवाद सुपर–४ चरणको पहिलो खेलमा पाकिस्तान र बंगलादेशबीच भएको थियो । जहाँ पाकिस्तानी इनिङ्सको ५ ओभर सकिएपछि रंगशालाको फ्लडलाइट निभ्यो । जसका कारण लाहोरको गद्दाफी स्टेडियममा खेल रोकिनु परेको थियो । करिब २० देखि २५ मिनेटपछि फ्लडलाइटहरू बल्न थाले र खेल फेरि सुरु भयो ।

लाहोरको गद्दाफी स्टेडियममा फ्लडलाइटहरू बन्द गरिएको यो पहिलो पटक होइन । यसअघि सन् २०१५ मा पाकिस्तान–जिम्बाब्वे सिरिजमा पनि फ्लडलाइट अन गरिएको थिएन । सन् २०२० र २०२३ मा पाकिस्तान सुपर लिगको समयमा पनि सोही रंगशालाको फ्लडलाइट बन्द भएपछि खेल रोकिनु परेको थियो । तीन पटक समस्या बाहिर आएपछि पनि रंगशाला व्यवस्थापनले यसको समस्या समाधान गर्न सकेको छैन ।

७. वर्षाले भारत–पाकिस्तानबीचको खेल खल्लो बनायो
महिनौंदेखिको छलफलपछि भारतका सबै खेल श्रीलंकामा र भारत–पाकिस्तानको खेल क्यान्डी सहरमा गर्ने निर्णय भएको थियो । तर सेप्टेम्बर महिनामा श्रीलंकामा पानी पर्ने, अहिले मनसुन फर्किने अवस्था छ । देशका सहरमा वर्षा भइरहेको छ । सेप्टेम्बर २ मा भारत–पाकिस्तान खेलमा पनि वर्षा बाधक बन्यो । भारतले पहिलो इनिङ्स खेल्दै २६६ रन बनाएको थियो । खेल सकिएला जस्तो लाग्थ्यो तर दोस्रो इनिङ्स अघि पानी पर्न थाल्यो । वर्षा रोकिएन र खेल रद्द गर्नुपर्‍यो । खेल अनिर्णित भएपछि दुवै टोलीले १–१ अंक बाँडे ।

मैदानमा बसेका दर्शकले न पैसा फिर्ता पाए न त दर्शकले एक वर्षपछि टिभीमा भारत–पाकिस्तानको खेलको राम्रोसँग मजा लिन पाए ।

८. कोलम्बोमा मात्र खेल हुने, तर फाइनलसम्म वर्षाको सम्भावना
एसीसी र पीसीबीले सुपर–४ चरणको लागि स्थान परिवर्तन गरेको छैन, तर मौसम वेबसाइटका अनुसार, कोलम्बो शहरमा आगामी १० दिनसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । सेप्टेम्बर ९ मा कोलम्बोमा श्रीलंका र बंगलादेशबीचको खेल हुनेछ, यस दिन वर्षाको सम्भावना ८० प्रतिशत छ । त्यसको भोलिपल्ट भारत–पाकिस्तानबीच खेल हुनेछ, यस दिन पनि वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ ।