२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी नै बेच्छन तरकारी



अ+ अ-

तुलसीपुर । केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।

कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताउनुभयो । “हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिककरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ”, उहाँले भन्नुभयो, “खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।”

विद्यालयले बीउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीरुले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् ।

प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आइएको विद्यार्थी शोभा बुढाथोकीले बताउनुभयो । तुलसीपुर–३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ ।

विद्यार्थीहरुले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए । त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, सितलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेती गरेका छन् । विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरु व्यवसायमा जोडिएको विद्यालयका कृषि सङ्काय प्रमुख समीक्षा गुप्ताले बताउनुभयो । सैद्धान्तिक कक्षाबाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरुले समूह बनाएर यसरी खेती गर्दै आएका छन् ।

मेहनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरुलाई थप हौसला मिलेकोे छ । विद्यार्थीहरुलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो । योसँगै विद्यार्थीहरुले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन् । रासस