५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व
अ+ अ-

गण्डकी । भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त?

झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भन्नुभयो, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो ।”

प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उहाँले सुनाउनुभयो । अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ । भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ ।

सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ । सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे । दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए । तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए ।

सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ । “सोमबार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ”, सचिव घर्तीले भन्नुभयो, “सँुगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ ।”

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो (कूल) घरमा हुन्छ । राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ । स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन् । घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो ।

पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ । बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ । उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ । पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु (उखुरधुम) पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ ।

लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन् । लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ । बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताउनुभयो । बिहानै राँगाको बलि दिएपछि पुन: ढ्याङ्ग्रोको तालमा गीत ९वन गन्ने० सुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ ।

कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ ।

बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन् । समूहमा ‘आयो, आयो।।’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन् । हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ । अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ । यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ ।

समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ । गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ । छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताउनुभयो ।

“भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ”, उहाँले भन्नुभयो, “परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ ।”

पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ । परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताउनुभयो । विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ ।

सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन् । आफन्त भेटघाट हुने, सुखदु:ख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ ।

सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताउनुभयो । “भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन”, उहाँले भन्नुभयो, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ ।”

भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताउनुभयो । उहाँका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

हिलमा गत साता सो पर्व मनाइएको थियो । अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ । “भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ”, संस्कृतिकर्मी घर्तीले भन्नुभयो, “यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन् ।” रासस