९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ । ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आकलन गरिएकाले त्यसलाई चिर्न अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘अविश्वासको प्रस्ताव र एमाले सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’ अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ ।

नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ । ‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन,’ जसपाका एक नेताले भने । यसअघि कांग्रेस सभापति देउवाको जोड चुनावमै जानुपर्छ भन्ने भए पनि लुम्बिनी प्रदेशको प्रकरणपछि उनी हच्किएको र कम्तीमा ओलीको नेतृत्वमा चुनावमा जानु हुन्न भन्ने निष्कर्षमा पुगेका छन् । त्यसपछि नै उनले गठबन्धन सरकारबारे रुचि देखाएका हुन् । लुम्बिनी प्रदेशको प्रकरणपछि देउवा सार्वजनिक रूपमा पनि ओलीप्रति अलि धेरै आक्रोशित देखिन्छन् ।

बुधबारमात्रै ओलीले गरेको सत्ता सहकार्य र चुनावी गठबन्धनको प्रस्तावलाई देउवाले अस्वीकार गरेका छन् । बरु राष्ट्रिय सभाको वाग्मती प्रदेशको उम्मेदवारमा एमालेको नेपाल समूहले अघि सारेका संघीयताविद् खिमलाल देवकोटालाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको छ । यसलाई नेताहरूले रणनीतिक चालका रूपमा लिएका छन् । ‘यही सहमतिलाई सत्ता सहकार्यसम्म लैजाने गरी सहमति जुटाएर नेताहरू उठेका हुन्,’ स्रोतले भन्यो, ‘फाइनल कुरा हुन बाँकी छ, शुक्रबारसम्म सबै टुंगो लाग्छ ।’ यो कान्तिपुर दैनिकमा समाचार  छ ।