काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्ने गरि दलिय छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको स्थायी समिति बैठकले विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षसँग छलफल चलाउने निर्णय गरेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।
स्थायी समिति बैठकले पनि विश्वासको मतका लागि दलहरुसँगको छलफल अझै संघन रुपमा अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी आगामी जेठ ६ गते हुने (बाग्मती प्रदेश) राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउने गरि छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “जेठ ६ गते हुन गईरहेको बाग्मती प्रदेशबाट निर्वाचित हुने एकजना राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरि, एमालेको जीत सुनिश्चित हुने गरि छलफल गर्ने निर्णय भएको छ । उम्मेदवारको हकमा हामी छिटै निर्णय गर्छौ । विश्वासको मत प्राप्त गर्ने गरि विभिन्न पक्षसंग छलफलहरु च्लिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।”
सरकारले विश्वासको मत लिनका लागि आगामी सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आव्हान गरिसकेको छ । यसको पुर्वसन्धामा प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेटी आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर कांग्रेसले सहयोग गर्न नसक्ने जनाईसकेको छ ।








