• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती ★   सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत फेला ★   तीन महिनामा मरे तीन पाटेबाघ ★   सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरु सभामुखको बचाउमा ★   किसानलाई वरदान बन्यो झोलुङ्गे पुल ★   आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन ★   जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद: हिमाल भएका देशका समस्याबारे समान धारणा बनाउन सफल ★   निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल



बेनी । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् ।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ । क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हँुदै खयर पुग्न थालिसकेका थिए ।

त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ ।

ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अङ््कित पुनले बताउनुभयो । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ । रासस