• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ ★   दाजुका लागि देश छोडे, शक्तिशाली शतक बनाएर गरे ठूलो उपलब्धि ★   सत्ता समीकरणमा कुनै समस्या आएको छैन: उपप्रधानमन्त्री लामिछाने ★   टी २० विश्वकपः सुपर-८ का १२ खेल ४ रंगशालामा ★   पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो रु सात करोड ★   श्रीलंकाले नेदरल्यान्ड्सलाई ८३ रनले हरायो

बैतडी विमानस्थल डेढ वर्षदेखि बन्द, धावनमार्ग टिकटक बनाउने थलो



बैतडी । बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन । यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।”

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा रु तीन हजार सात सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर रु पाँच हजार पुगेको थियो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी दिनेश जोशीले बताउनुभयो ।

“हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ”, उहाँले भन्नुभयो, “नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि विमानस्थलमा जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

करोडौँका संरचना प्रयोगविहीन
डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रु १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् ।

तीन वर्षअघि रु ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकहरूले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीयवासी लक्ष्मीदत्त पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “थुपै्र पर्यटनको सम्भावना रहेको यस क्षेत्रमा हवाई सेवा सञ्चालनले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिन्छ । त्यसका लागि चाँडोभन्दा चाँडो यहाँ हवाई सेवा सञ्चालन गर्नुपर्छ ।”

नियमित उडान नहुने र भाडा पनि महँगो भएको भएकाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ थियो । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने अर्का स्थानीय जयराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “भाडा समायोजन गरेर नियमित हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । भाडा समायोजन गरे यात्रुहरु पनि पाइन्छन् ।”

विमानस्थल सञ्चालनमा नआउँदा राज्यको लगानीको सदुपयोग नहुनाका साथै नागरिकले सेवासमेत पाउन सकेका छैनन् । नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका नगरप्रमुख गौरीसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।”

धावनमार्ग टिकटक बनाउने थलो
जहाज नआउँदा विमानस्थलको धावनमार्गमा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ । उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत भएको हो । साथै धावनमार्गमा पनि घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् ।

द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो । विसं२०३६ देखि २०५२सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो । छब्बिस वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु गरेको थियो । रासस