तपाईहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ । माधव कमरेड लगायत पार्टीका असन्तुष्ट नेता कमरेडहरुलाई मेरो विशेष अनुरोध
पार्टीभित्रको अन्तर्विरोध, विमति , असहमति र असमझदारीलाई पार्टीभित्रै छलफल र अन्तर्संघर्षको माध्यमबाट हल गर्नु नै उत्तम विकल्प र बुद्धिमानी हो । अन्य राजनीतिक शक्ति र नेताहरुको उक्साहटमा लागेर उनीहरुको गोटी बनेर उनीहरुको स्वार्थ पूरा गर्ने कुत्सित अभिप्रायले आफ्नो यत्रो इतिहास बोकेको गौरवशाली पार्टी नेकपा एमालेलाई क्षतविक्षत धराशायी पार्न खोज्नु तपाईंहरु जस्तो बौद्धिक र सिनियर लिडरहरुको लागि पटक्कै सुहाउने कुरा होइन ।
यदि त्यो हदसम्म जानु भयो र पार्टीलाई अपूरणीय क्षति पुर्याउनु भयो भने इतिहास र पार्टीका इमान्दार कार्यकर्ता एवं शुभ चिन्तकहरुले तपाईंहरुलाई सराप्नेछन् , धिक्कार्नेछन् । इतिहासले माफ़ गर्ने छैन तपाईंहरुलाई । चेतना भया । भाई फुटे गंवार लुटे भन्ने चर्चित र साश्वत् उखानबाट तपाईंहरु पक्कै अनभिज्ञ हुनु हुन्न ।
अनि हगी सक्यो दैलो देख्यो भन्ने उखानको मर्म पनि भलिभॉती बुझ्नु भएकै छ कमरेडहरु ।एउटा व्यक्तिसंगको व्यक्तिगत इगो र टसलको कारण हजारौं लाखौं नेता कार्यकर्ता र शुभ चिन्तकहरुको मन दुखाउने छुट र हक तपाईंहरुलाई छैन ।
कथंकदाचित त्यसो गरी हाल्नु भयो भने त्यो आत्मघाती गोल ठहरिनेछ र तत्पश्चात् तपाईंहरुको मनोविज्ञान पनि आत्मघाती गोल गर्ने खेलाडीको जसरी नै गुज्रनेछ । त्यति बेला तपाईंहरुले पनि चैनको श्वास फेर्न सक्नु हुने छैन। तपाईंहरुको मन भतभती पोल्नेछ । आत्मग्लानि हुनेछ । यसमा कुनै सन्देह छैन कमरेडहरु ।
त्यसैले मेरो बिन्ती छ कमरेडहरु, अझै पनि समय छ ठण्डा दिमागले सोच्नुहोस् र पार्टीलाई एक ढिक्का राख्न हदै सम्मको भरमग्दुर प्रयास गर्नु होस् । इगो छोडी दिनुहोस् । यिनीहरु पद नपाएर मात्र यसो गरेका हुन् भन्ने अवगालबाट पनि बच्नुहोस् । पार्टी भित्र अन्तरसंघर्ष गर्ने उपयुक्त र सर्वोत्तम विकल्प त छंदै छनी । कहिले सासुको पालो कहिले बुहारीको पालो त भै हाल्छ नी । तर त्यसको लागि धैर्य धारण त गर्नु पर्यो नी कमरेडहरु ।
गंगा चौधरी सत्गौवा











