काठमाडौं । देशमा एकातिर महामारीको त्रास बढ्दो छ भने उता राजनीतिक दाउपेचको पारो पनि महामारीभन्दा झन् ठूलो रफ्तारमा बढिरहेको छ ।
आफू प्रधानमन्त्री रहेकै बेला केपी ओलीले विश्वासको मत लिन्छु भनेर संसदको आह्वान गर्न लगाएका छन् र भोलि २७ गते संसदको विशेष अधिवेशन शुरु हुने भएको छ ।
तर महामारीसँगै बढेको राजनीतिक गडबढीको व्यवस्थापनका लागि सबैभन्दा ठूलो तनाव भएको छ एमाले नेता माधव नेपाललाई ।
हुनत उनी नेकपा एमालेबाट कारबाहीमा परेका छन् । उनी छ महिनाका लागि निलम्बित पनि छन् । तर पार्टीभित्र समानान्तर कमिटी सञ्चालन गरिरहेका छन् । एकातर्फ यस्तोे अवस्था छ भने अर्कातर्फ भोलिको विश्वासको मत प्रधानमन्त्रीले कसरी लिन्छन् भन्ने चासो प्रतिपल झनै बढ्दो छ ।
माधव नेपाल र झलनाथ खनाल पक्षका २० जना सांसदहरुले राजीनामा दिने तर प्रधानमन्त्रीलाई मत नदिने गरी तयारी गरेका छन् भन्ने समाचारहरु पनि बाहिर आएका छन् ।
यदि त्यसो भयो भने उता विपक्षी दलका नेता शेरबहादुर देउवालाई बहुमत पुग्ने, ओलीको सरकार ढल्ने अवस्था देखिएको बजारमा आएका सूचनाहरुले बताइरहेका छन् ।
सो समाचारपछि आजै विहान जसपाका नेताद्धय महन्त ठाकुर र उपेन्द्र महतो बुढानीलकण्ठ पुगेर काँग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो दल तटस्थ बस्ने तर मत नदिने जानकारी औपचारिक रुपमै गराएर हिँडेका छन् ।
सत्ताको यस्तो रस्साकस्सी चर्किएका बेला यता प्रधानमन्त्री केपी ओली र नेता माधव नेपाल भने भर्खरै राजधानीको कुनै स्थानमा लञ्च मिटिङमा बसेको सुन्नमा आएको छ ।
उनीहरु राजधानीमै कतै छन्, दुई जनामात्र छन् र यही जारी राजनीतिक तनावको व्यवस्थापनमा कुरा गरिरहेका छन्– समाचार स्रोतले भन्यो ।
आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको थियो । सो बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले माधव नेपालसँग खानाखाने कार्यक्रम तय भएको बताइएको छ ।
बालुवाटार स्रोतले यो समाचारको पुष्टि गर्यो र भन्यो– संवैधानिक परिषदको बैठकपछि उहाँहरुको लञ्च मिटिङ तय भएको हो, यतै नजिकै कतै हुनुहुन्छ ।
तर त्यो ‘यतै नजिकै’ कता हो भन्ने बारेमा भने स्रोतले खुलाउन चाहेन ।








