काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने संभावना नरहेको बताउनुभएको छ । आईतबार संघीय संसद भवन नयाँवानेश्वरमा संञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पार्टी भित्र व्हीप लाग्ने र सांसदहरुले पार्टीको व्हीप मान्नु पर्ने संकेत गर्नुभएको हो ।
उहाँले अन्य पार्टीलाई आफुहरुको ह्वीप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्वीप उलंघन गर्न नमिल्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो “२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो । त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरुसंग हामीले सहयोग माग्ने मात्रै हो । अरु दललाई हाम्रो व्हीप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ ।”
उहाँले एमालेकै नेपाल खनाल समुहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नु अगावै राजिनामा दिने कुरामा आफुलाई विश्वास नभएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो “मलाई पटक्कै विश्वास छैन । किनभने निर्वाचनमा ५ बर्षका लागि मत मागेर आउनुभयो । विकास र सम्मृद्धिको कुरा गर्नुभयो । यसबेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो । त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन ।”








