१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अस्पतालहरुमा बिरामीको चाप बढ्यो

अस्पतालहरुमा बिरामीको चाप बढ्यो
अ अ+ अ-

चितवन । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् । 

चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ कोभिडका बिरामी रहेका छन् । अस्पतालका अपरेसन म्यानेजर पारस अधिकारीका अनुसार कोभिडका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकामा अहिले त्यहाँ २९ बिरामी रहेका छन् । बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ । तेइस बिरामी एचडियुमा रहेका छन् भने १०१ जना सघन उपचार कक्षमा रहेको उहाँले जानकारी दिनुभयो । अन्य एचडियुमा रहेको उहाँको भनाइ  छ । अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।  

उहाँले भन्नुभयो, “कोभिडको रिपोर्ट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखी उपचार गरिरहेका छौँ ।” अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दनाक स्थिति भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दैनिक जसो अस्पताल आउँदा आउँदै मत्यु हुने बिरामीको सङ्ख्या चारदेखि पाँच जना रहेका छन् ।” श्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेकाको स्वाब नै परीक्षण नगरी पठाउने गरिएको छ । बिरामीको चाप बढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उहाँले बताउनुभयो । 

यस्तै पुरानो मेडिकल कलेजमा पनि बिरामीको चाप बढेको छ । अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार अस्पतालमा अहिले ६६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले  सङ्क्रमित बिरामीको उपचारका लागि २०० शय्या छुट्याएर उपचार गरिरहेको छ । अस्पतालमा रहेका बिरामीमध्ये १२ जना भेन्टिलेटरमा रहेका छन् । सघन उपचार कक्ष ५२ र एचडियुमा दुई जनालाई राखेर उपचार गरिएको छ । न्यौपानेका अनुसार बिरामीको चाप बढ्दै गएको छ । यही अनुसार सङ्क्रमित बढ्दै गए बिरामीको चापअनुसारको सेवा दिन अस्पताललाई कठिन हुने उहाँले बताउनुभयो ।

     उहाँले भन्नुभयो, “अहिले पनि सङ्क्रमण पुष्टि नभएका १३ जनालाई आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ ।” कोरोनाका कारण कठिन अवस्था आएको बताउँदै उहाँले भन्नुभयो “अहिलेसम्म त अक्सिजनको समस्या छैन । बिरामी बढे जिल्लामा पनि अक्सिजनको समस्या आउन सक्छ ।” सो अस्पतालमा पनि भेन्टिलेटर खाली छैनन् । 

भरतपुर अस्पतालमा १३७ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकारी नारायण रिजालका अनुसार अस्पतालममा कोभिडका बिरामी राख्ने क्षमता १४५ जनाको हो । पहिला १३५ जनाको क्षमता भए पनि आइतबार थप १० शय्या बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षमा नौ, एचडियुमा २५ र सामान्य कक्षमा १०३ बिरामी रहेका छन् । 

अहिले अस्पतालमा आएका बिरामी सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल बन्दै गएको उहाँको भनाइ छ । सरकारी अस्पतालमा उपचार गर्ने सरकारको नीतिअनुसार सङ्क्रमित थपिँदैं गएमा अन्य कक्ष खाली गरी शय्या थप्दै लैजाने तयारीमा अस्पताल रहेको  छ ।  अहिलेकै अवस्थामा अक्सिजन पर्याप्त भए पनि बिरामी बढेमा समस्या आउने अस्पतालले जनाएको छ । 

यता भरतपुरको बिपी कोइराला मेममोरियल क्यान्सर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालले क्यान्सर रोग लागेका र कोरोना सङ्क्रमण देखिएकालाई राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आवश्यकतानुसार अस्पतालका सबै ४०० शय्या नै कोभिडको बिरामीका लागि प्रयोग गर्न सकिने बताउनुभयो । अन्य अस्पतालमा बिरामीले उपचार गर्न नपाउने अवस्था आएमा क्यान्सर अस्पताललाई पनि प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । 

भरतपुरको चौबिसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालमा अहिले कोभिड सङ्क्रमित १९ बिरामीको उपचार भइरहेको छ । सो अस्पतालमा २० सङ्क्रमितको उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षममा छ र कोभिड कक्षमा १३ जनाको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको क्षमताअनुसार मात्र कोरोनाका बिरामी राख्ने उहाँले बताउनुभयो । 
 
यस्तै जिल्लाको नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालले समेत कोरोना सङ्क्रमितको उपचार शुरु गरेका छन् । नारायणी सामुदायिक अस्पतालमा अहिले १२ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । नेशनल सिटी अस्पतालमा एक जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा ३९० सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १७६ सङ्क्रमित चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । जिल्लामा आजसम्म नौ हजार ५१९ जना कोरोना सङ्क्रमित भएका छन् ।  

उपचारका लागि आउने बिरामीमा छिमेकी जिल्लाहरु धादिङ, लम्जुङ, गोरखा, मकवानपुर, बारा, पर्सा, रौतहट, कैलाली, नवलपुर, नवलपरासी, रुपन्देही, अर्घाखाँची र प्युठानका  रहेका छन् । कतिपय जिल्लाबाट हेलिकप्टरमा पनि बिरामी यहाँ ल्याइएको छ । अहिलेसम्म कोभिडका बिरामीका लागि शय्या भए पनि भेन्टिलेटरको अभावका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।