• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आक्रोशित, त्रिवि भन्छ: नियमन गर्न खोजेका हौँ



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।

उनीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका हुन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।

विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताउनु भयो । लामिछानेले पुस्तकालयमा स्वत:स्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताउनु भयो । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताउनु भयो । उहाँले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताउनु भयो ।

यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गर्नुभयो । उहाँले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको वताउनु भयो । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताउनु भयो ।

उहाँले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताउनु भयो । उहाँले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताउनु भयो ।

अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययान गर्न बाध्य भएको बताउनु भयो । उहाँले शुल्क निर्धारण मापदण्ड वैज्ञानीक नभएको भन्दै शुल्क लिनु आपत्तीजनक रहेको बताउनु भयो । कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको बताउनु भयो । उहाँले जागिर खाइसकेका, लोकसेवा लगायतको परीक्षा दिनका लागि मात्रै एक महिना/ डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नु वैज्ञानिक नभएको बताउनु भयो ।

यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताउनु भयो । उहाँले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताउनु भयो ।

ओझाले भन्नुभयो, ‘केन्द्रिय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महशुस गराउन खोजेका हौं । त्यस्तो महँगो शुल्क होइन । एउटा रेकर्डको लागि पनि हो । पाँच/सात सय रुपैयाँ महँगों नहोला । ’

केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताउनु भयो । उहाँले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताउनु भयो । उहाँले पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्वर झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको बताउनु भयो ।

सुवेदीले भन्नुभयो, ‘कुनैपनि पुस्तकालय त्यस्तो हुँदैन जहाँ सदस्य नभइकन त्यहाँका सामग्री प्रयोग गर्न पाईन्छ । हामीले यो भन्दा अगाडी विश्वविद्यालय केन्द्रिय पुस्तकालयमा जो कोही व्यक्ति पनि जुनसुकै बेला यो पुस्तकालय खोलुन्जेलसम्म पुस्तकालयमा बसेर पढ्नुपर्ने व्यवस्था गरिएको रहेछ । अब त्यो हुँदाखेरी हाम्रो विश्वविद्यालयभित्र बसेर पढिरहेको छ भन्ने कुराको रेकर्डपनि हामीसँग भएन । हामीले के गर्‍यौं भने कम्तीमा पुस्तकालयभित्र बसेर अध्ययन गर्ने विद्यार्थीहरुको रेकर्ड हामीसँग हुनुपर्छ । त्यसको लागि उनीहरुलाई सदस्यता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राखेर भदौ १ गतेदेखि त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर पढ्न खोज्ने विद्यार्थीको लागि चाहीँ अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गर्‍यौं । त्रिवि केन्द्रिय क्याम्पसमा भर्ना हुने सबै विद्यार्थीहरु यहाँका सदस्य हुन पाउँछन् । र, उनीहरुसँग त्रिविको आइडेन्टीकार्ड हुन्छ ।

पुस्तकालय प्रयोग गर्न जुनसुकै देशमा सदस्यता कार्ड लिइन्छ । यो भन्दा अगाडी विद्यार्थीहरुले सित्तैमा भित्र छिरेर जुनसुकै बेला जसरीपनि बसेर पढ्न पाइने भइरहेको परिस्थितिमा सदस्य बनेर छिर्नुपर्दा अलिकति अफ्ठ्यारो भएको हुनसक्छ । यथार्थमा यो उहाँहरुलाई दु:ख दिन खोजिएको होइन की त्यो चाहीँ एउटा नियम बसाउन खोजिएको हो । यहाँ त विद्यार्थी आउने लाइन लागेर बस्ने र दुई थरी विद्यार्थी झगडा गर्ने, यहाँका भौतिक संरचनाहरुलाई पनि क्षती पुर्‍याउने, मेचमा बस्दाखेरी पनि म पहिले आएको त पछि आएको, यो मेरो ठाउँ यो मेरो ठाउँ भनेर एक किसिमको कन्फ्लीक्टको कुरापनि ल्याउन थाल्नुभयो । जसले गर्दा हामीलाई त एउटा नियमन त गर्नुपर्‍यो । नियमन गर्नलाई पहिलो स्टेपको सदस्यताको कुरा हो । सदस्यता हामीले नियम बनाउनका लागि गरेका हौं ।’

पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरीएको हो ।