२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन सहर बनेपा: जहाँ बर्सेनि हजारौँ कन्या पुजिन्छन्



अ+ अ-

काभ्रेपलाञ्चोक । प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी’ बराबरी ।

बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । विसं १९५९ देखि यहाँका स्थानीयले यस परम्परालाई विशेष तामझाम, रमझमसहित सामूहिक संलग्नतामा मनाउँदै आएका छन् । अघिल्ला दुई वर्ष कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको कन्यापूजा गत वर्षदेखि पुन:निरन्तरता पाएको छ । यस अवधिमा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्याको पूजा गरिएको छ ।

सनातन कन्यापूजा प्रबन्ध समितिमार्फत रजस्वला नभएका ९दश वर्षमुनिका कन्या०को पूजा गर्ने गरिएको जनाइएको छ । यस वर्ष भदौ २० गते कन्यापूजा गरिने समितिले जनाएको छ । रजस्वला नभएका तथा बेलविवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहेको स्थानीय लम्बोदर कायष्थले बताउनुभयो ।

यही मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्दै आइएको उहाँको भनाइ थियो । उहाँका अनुसार विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा यसप्रथा धुमधामका साथ आयोजना गरी मनाउने गरिएको छ ।

घाम र हावाको सन्तुलन मिलाउन चोक, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली निर्माण गरिएको प्राचीन सहर हो बनेपा । यहाँ नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार छन् । यस नगरमा एक सय २१ वर्ष पुरानो इतिहास बोकेको कन्यपूजाको प्रचलन पछिल्ला केही वर्षदेखि जिल्लाका अन्य बजार तथा बस्तीमा पनि गर्न थालिएको स्थानीय बताउँछन् ।

विनाटिकट स्वत:स्फूर्त गरिने यसमा प्रत्येक वर्ष करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पूजा गर्दा उनीहरुको स्वास्थ्य राम्रो हुनुका साथै पूजा गर्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिनुभयो । उहाँका अनुसार यही कारणले कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गर्ने र गराउनेको ठूलो भीड हुने गर्दछ ।

त्यस दिन कन्यालाई पूजा गर्नका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका समितिका सदस्य कायष्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा, प्रसाद, स्वारी, मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।

पूजामा सहभागी प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाएर पूजा गर्ने प्रचलन रहेको कायष्थले बताउनुभयो । उहाँका अनुसार पूजामा काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर, काठमाडौँ, ललितपुर लगायतबाट रजस्वला नभएका कन्या पनि सहभागी हुने गर्दछन् ।

स्थानीय लम्बोदर कायष्थले यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउनेजाने प्रक्रिया चलिरहने बताउनुभयो । रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सु:ख, शान्ति, समृद्धि छाउनुका साथै पूजा गर्ने व्यक्तिलाई पनि धर्म हुने जनविश्वास रहेको उहाँले बताउनुभयो ।

किंवदन्तीअनुसार रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्या मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थकता प्राप्त हुने धार्मिक विश्वास रहिआएको लम्बोदरले जानकारी दिनुभयो । बनेपाका सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवी ‘कन्या’ भएकाले कन्यालाई पूजा गरे राक्षसको दुष्प्रभावबाट पनि बच्न सकिने हुँदा कन्यापूजाको प्रचलन रहिआएको उहाँले बताउनुभयो ।

पूजामा सहभागी कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी तथा बाजाको व्यवस्थापनसमेत गर्दछन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति वा वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ ।

बनेपा नगरपालिका–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा गरेपछि कन्यापूजा सुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दु:ख भएपछि घरको बँुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । “सोही प्रचलनलाई सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्ष पछि सबै जातजातिका कन्यालाई पूजा गर्न थालिएको हो”, उहाँले भन्नुभयो ।

यहाँ हुने कन्यापूजामा प्रतिकन्या रू चार सय बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष आठ हजार कन्याका लागि रू तीन करोड २० लाख खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् ।

“नेवा: कन्या–पूजाका नाममा टिकट दिएर गरिने कन्यापूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना हुने भएको छ”, वैद्यले भन्नुभयो, “कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा प्रत्येक वर्ष दुई हजार कन्या सहभागी हुन्छन् ।” उहाँका अनुसार जन्माष्टमीको दिन र जन्माष्टमीभन्दा दुई दिन अघि गरी वर्षमा दुईपटक कन्यापूजाको आयोजना गरिन्छ । रासस