काठमाडौं । राष्ट्रिय जनमोर्चाका दुई सांसदले कुनै गठबन्धनमा नरहेको दाबी गरेसँगै गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयास असमर्थ भएको छ ।
बहुमत दावीसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस(माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको बताउनुभएको हो ।
बागलुङमा रहनुभएका सांसद शाहीले पत्र लेख्दै विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पार्दै आफू तटस्थ रहेको जनाउनुभएको हो ।
यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्रमार्फत आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गर्नुभएको थियो । जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धले बहुमत पुर्याउन असमर्थ भएको हो ।
संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पुर्याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
प्रदेश प्रमुखको कार्यालयले पोखरेललाई बहुमत सांसदको समर्थन रहेको दावी पेश गर्न आह्वान गर्ने र मुख्यमन्त्रीमा ठूलो दलको हैसियतमा हालै राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्ति गर्ने तयारी भइरहेको बताइएको छ ।
यो पनिः प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाको पत्र, 'म कुनै गठबन्धनमा नलागि तटस्थ रहेको छु'












