२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार



अ+ अ-

भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आउनुभएको छ । उहाँ करिब १८ वर्षदेखि उक्त कर्ममा लाग्नुभएको हो । राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दैआउनुभएको छ । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उहाँको भनाइ छ ।

“विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ”, राईले भन्नुभयो, “वार्षिक रुपमा रु नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”

कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा विभिन्न बेमौसमी तरकारबाली लगाएको बताउनुभयो । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताउनुभयो । अहिले महिनामा पाँच/छ जनालाई रोजगारीसमेत दिएको उहाँको भनाइ छ ।

“आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ”, उहाँले भन्नुभयो, “विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।”

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उहाँले बताउनुभयो । “कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ”, उहाँले भन्नुभयो, “बजारको राम्रो व्यवस्था नहँुदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।”

नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९/८० मा रु दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताउनुभयो । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उहाँको भनाइ छ । “लामो समयबाट कृषिमा लागेको थिए”, उहाँले भन्नुभयो, “तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।”

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उहाँको भनाइ छ । “व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।” रासस