६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । 

सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट सुरु गर्नुपर्ने माग ओलीले नसुनेपछि नेपाल समूह पार्टीबाटै बाहिरिने वा सांसद पदबाट सामूहिक राजीनामा दिएर आन्तरिक संघर्ष गर्ने भन्नेबारे छलफलमा जुटेको हो ।

एमाले अध्यक्ष ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत आर्जन गर्न नसकेपछि अहिले नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा नेपाल पक्ष निर्णायक स्थानमा छ । नेपाल पक्षका सांसदले राजीनामा दिए विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि बल पुग्नेछ तर जनता समाजवादी पार्टी दुई धारमा बाँडिएको अवस्थामा तत्कालै राजीनामा दिनु घातकमात्रै हुने तर्क पनि सो समूहमा उठेको छ ।  

विश्वासको मतमा प्रतिनिधिसभामा मतदान हुनुअघि प्रधानमन्त्री ओलीले राजीनामा नदिनु, अन्य विकल्प अपनाउनु भन्ने सन्देश पठाएपछि त्यसकै आधारमा राजीनामाबाट पछि हटेको नेपाल पक्षले पार्टी एकताका विषयमा तत्काल छलफल हुने अपेक्षा गरेको थियो । तर बितेका दुई दिनमा ओली पक्षले उनीहरूसँग संवाद नै गर्न नचाहेपछि बुधबार नेपाल पक्षका नेता घनश्याम भुसाल र भीम रावलले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले अब नयाँ विकल्पतिर जानुपर्ने आशय व्यक्त गरेका छन् । भुसालले आत्मसमर्पण गर्नु क्रान्तिकारी गद्दारी हो भनेका छन् भने नेता रावलले राजीनामा दिएर ओली सरकार हटाउने जनाएका छन् । तर राजीनामा कहिले कसरी दिने भन्नेबारेमा रावलले खुलाएका छैनन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।