काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्ने अबस्थामा सबै राजनीतिज्ञहरु लज्जित भएको बताउनु भएको छ । सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै नेता भट्टराईले यस्तो सवेदनशील अबस्थामा भै रहेको अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्यसंयन्त्र ,तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्न सक्ने अबस्था उत्पन्न हुने शंका गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ– आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बांचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ ।
बिगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रर्याप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौँ ।
यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असतुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ।
निम्न बिषयमा सरकारको ध्यानाकर्षण गर्दछु ।
१) अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरीनै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नुपर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२) २०७२ को महाभुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड-१९ लाई बनाउनु पर्दछ ।
३) सम्पुर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४) आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।











