• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

तीन दिन भारी वर्षा हुने



काठमाडौँ । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।

विशेष मनसुन बुलेटिन जारी गर्दै नेपालमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण तीन दिन भारी वर्षा हुने विभागले जानकारी दिएको छ। मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको छ। त्यो रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको प्रभाव उच्च रहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार केही दिनयता सक्रिय रहेको मनसुनी वर्षा तुलनात्मक रूपमा शनिबार रातिदेखि अझ भारी हुने सम्भावना रहेको छ। पौडेलले भन्नुभयो, “मनसुन सक्रिय रहँदा कहिले भारी र कहिले अलिक कम वर्षा हुने क्रम चल्छ, त्यसै क्रममा फेरि भारी वर्षाको चक्र सुरु हुन थालेको हो।”

शनिबारदेखिको वर्षाले तराईभन्दा देशको पहाडी भूभागमा असर गर्ने अनुमान उहाँले गर्नुभयो। सुरुका दिनमा तराई भेगमा भारी वर्षा हुँदा त्यहाँको जनजीवनमा असर गर्ने देखिएको छ। त्यसपछि पहाडतिर उक्लने भारी वर्षाले बाढीपहिरो र भेलपहिरोको खतरा निम्त्याउन सक्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन भनिएको छ।

विभागद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ, “शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ।” त्यस्तै ठुला तथा साना नदीनाला र खोलामा पानीको बहाव बढ्ने छ। दैनिक जनजीवन तथा सडक मार्ग तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भेगमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा पनि भारी वर्षा हुने भएको छ। आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा भारी वर्षा हुने छ। त्यस्तै मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

सोमबार देशभर पूर्ण बदली कायम रहँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी, मधेश र बागमती प्रदेशका केही भेगमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। सोमबारसम्म मध्यमदेखि अति भारी वर्षाको क्रम तीन दिन चल्ने हुँदा देशका ठुला साना नदीको बहाव बढ्ने, आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। मङ्गलबारदेखि भने वर्षाको दर कम हुँदै जाने भएकाले बाढीपहिरोको सम्भावना पनि कम हुँदै जाने मौसमविद् पौडेलले बताउनुभयो। चार दिनअघि देशका विभिन्न स्थानमा भारी वर्षा हुँदा बाढीपहिरो र डुबानले जनधनको क्षति गरेको थियो।

कम हुँदै मनसुनी वर्षा

विगत २० वर्षको मनसुन सिजनको वर्षाको विश्लेषण गर्दै विभागको जलवायु विशलेषण शाखाले मनसुन सिजनको वर्षा घट्दै गएको औँल्याएको छ। नेपालमा सन् १९९१ देखि सन् २०२० सम्म २० वटा वर्षा मापन केन्द्रको नियमित अनुगमन गर्दा मनसुनी वर्षाको दर बिस्तारै कम हुँदै गएको देखिएको छ। मनसुनको मुख्य अवधि जेठ १५ देखि असोज १५ गतेसम्मको अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर मनसुनी वर्षा रेकर्ड हुने गरेको शाखाले उल्लेख गरेको छ। तर पछिल्लो समय मनसुनी वर्षाको दर कम हुँदै गएको देखिएको हो।

जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ। जुन २० वर्षको सुरदर वर्षाको करिब ४४.५ प्रतिशत मात्र हो। यसले अहिलेसम्म जति हुनुपर्ने हो, त्यो मात्राको वर्षा भएको छैन।

मध्यक्षेत्रमा वर्षाको दर ठिकै रहे पनि तराई भेगमा अति कम वर्षा भएको शाखाले औँल्याएको छ। वर्षाको प्रवृत्ति फेरिँदै जानु र मनसुनको समयमा पनि फेरबदल आएका कारण यस्तो हुने गरेको जलवायुविज्ञ डा। इन्दिरा कँडेल बताउनुहुन्छ। गोरखापत्र दैनिक