५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा रमाउँदै लाहुरे गुरुङ



अ+ अ-

गलकोट । उमेरले ५८ वर्ष पुग्नुभएका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गर्नुभएका उहाँले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ ।

जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उहाँ व्यावसायिक कृषि आबद्ध हुनुभएको हो । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा १६ वर्ष बिताएपछि २०६१ सालमा अवकास लिनुभयो । त्यसपछि वैदेशिक रोजगारीका लागि इराक पुग्नुभएका उहाँले त्यहाँ तीन वर्ष त्यहाँ बिताउनुभयो । त्यसपछि २०६४ सालमा गाउँ फर्कनुभएका गुरुङले २०६५ सालदेखि मकै फल्ने बारीमा व्यावसायिक कृषि सुरु गर्नुभएको हो ।

“मकैबारीमा पोखरी बनाउँदा गाली गर्नेहरु धेरै थिए”, गुरुङले भन्नुभयो, “तीन रोपनीमा माछापालन र तीन रोपनीमा गरिएको सुन्ताला खेती यतिबेला आम्दानीको भरपर्दो स्रोत बनेको छ ।” उहाँका अनुसार यतिबेला माछापालन र सुन्तला खेतीबाट वार्षिक औसत रु पाँच लाख बचत भइरहेको छ ।

“तत्कालीन समयमा सोखका हिसाबले माछापालनका लागि पोखरी खनेँ, सुन्तलाका विरुवा पनि रोपे”, उहाँले भन्नुभयो, “अहिले यो व्यावसायिक भयो, आफैँ पसिना बगाउँछु, जति लगानी गर्नुपर्ने हो त्यो बेलै गरेँ, अहिले आम्दानीको भरपर्दो स्रोत भएको छ । सबै रकम बचत भइरहेको छ ।”

गुरुङले माछापालनको सोच भने भारतीय सेना कार्यरत हुँदा नै बनाएको सुुनाउनुभयो । अहिले आम्दानीका लागि पेन्सन समेत भएकाले आफू र पाहुनाका लागि छुट्याएपछिको मात्रै माछा बिक्री गर्दै आउनुभएको छ । जसबाट वार्षिक रु तीनदेखि चार लाखसम्म बचत हुने उहाँको भनाइ छ । घरै अगाडि सुन्तलाको बगैँचा र बीचमा माछापोखरी हुँदा घर छाडेर अन्तत्र बसाइसराइँ गर्न मन नलाग्ने उहाँले सुनाउनुभयो ।

“पहिला सोखले सुन्तला र माछापालन थालेको थिएँ, पछि माछापालनको क्षेत्र बढाएर तीन रोपनी पुर्याएँ, अहिले घरमै माछा खोज्न ग्राहक आउँछन्”, गुरुङले भन्नुभयो, “सुन्तलाको यसवर्ष एकमुष्ट रु दुई लाख आम्दानी गरेँ, केही सुन्तला आफन्तलाई कोसेली पठाएँ, श्रीमतीले घर नजिकैको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ, फुर्सदको समयमा श्रीमतीले समेत सुन्तला बगैँचाको स्याहार गर्नुहुन्छ ।”

गुरुङले मगरात एकीकृत कृषि फार्म दर्ता गरी खेती गरिरहनुभएको छ । अहिले माछाको बजारभाउ प्रतिकेजी रु छ सयमा बिक्री गर्दै आएको गुरुङको भनाइ छ । उहाँले माछा नजिकको हटिया र बागलुङ बजारमा खपत हुँदै आएको बताउँदै सुन्तला भने एकमुष्ट बिक्री हुने बताउनुभयो । सुन्तलाका बिरुवा बढाउने र पोखरीलाई थप व्यवस्थित गर्ने योजनामा गुरुङ हुनुहुन्छ ।

दुदिलाभाटीको चिसो पानीमा हुर्केका ग्रासकाप र सिल्भर कापका माछाको स्वाद मीठो भएकाले यहाँको माछा ग्राहकको रोजाइमा परेको उहाँको भनाइ छ । मकैबारी मासेर पोखरी बनाउँदा गाली गर्नेहरूले अहिले आफ्नो व्यावसायिक सोचबाट प्रेरित भएको देखेर आफूलाई सुन्तुष्टि मिल्ने गुरुङको भनाइ छ । रासस