१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, दाहाल र नेपालबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेताहरुबीच अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा अध्यक्षद्वय दाहाल र नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने भन्दै केही समय लिएर मात्र यसलाई अगाडि लैजानु पर्ने बताउनुभएको थियो । सकेसम्म स्थानीय तहको निर्वाचनभन्दा अघि एमसीसीलाई बढाउन नहुने उहाँहरुले प्रस्ताव गर्नुभएको थियो । तर प्रधानमन्त्री देउवाले एमसीसी बोर्डलाई आफूले दिएको समयसीमाभित्रै एमसीसीलाई संसद्बाट अनुमोदन गराउनुपर्ने अडान लिनुभएको थियो ।

आगामी फागुन १६ गतेभित्र एमसीसीलाई अनुमोदन गराउने प्रतिबद्धता व्यक्त गरिसकेकाले समयभित्रै अनुमोदन गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्राचार गर्दै आगामी फागुन १६ गतेभित्र एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यद्यपि अहिले अध्यक्ष प्रचण्ड सो प्रतिबद्धता पछि हट्नुभएको छ । एमसीसीलाई लिएर सत्ताधारी गठबन्धनभित्रै चर्को मतभेद रहेको छ ।

नेपाली कांग्रेस एमसीसीलाई जुनसुकै हालतमा पनि अनुमोदन गर्ने पक्षमा रहेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताउँदै आएका छन् ।