• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

बहुराष्ट्रिय कम्पनीको चेपुवामा विश्व खाद्यान्न बजार, मूल्य बढ्ने खतरा



जेनिफर क्लाप र फिल होवार्ड

वाटरलू: कोभिड–१९ महामारी र युक्रेनी युद्धले हालका वर्षहरूमा सबै किसिमका खाद्य वस्तुहरूको मूल्य अकासिएको छ, जसले विश्वव्यापी खाद्य सुरक्षालाई गम्भीर रूपमा कमजोर पारेको छ । अहिले, खाद्यान्नको विश्वव्यापी मूल्य एक वर्ष अघिको उच्च मूल्यबाट केही तल त झरेको छ, तर विश्वभर नै खाद्यान्नको भण्डार र वितरणका जोखिम क्षितिजमा होइन सामुन्ने नै मडारिइरहेका छन् । खाद्यान्नको मूल्यले फेरि पनि आकाश चुम्ने जोखिम कायमै छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको “ब्ल्याक सी ग्रेन इनिसिएटिभ” लाई खारेज गरी युक्रेनका निर्यात पूर्वाधारमा रुसी आक्रमण लगत्तै अन्नको मूल्य फेरि बढ्न थालेको छ । खाद्य बजारमा आएका अवरोधले दीर्घकालीन जोखिम निम्त्याउँछ । गहुँको मूल्य कोभिड महामारी अघिको भन्दा दोब्बर महँगो भइसकेको छ । यसबाहेक, खाद्यान्नको मूल्यस्फीति धेरैवटा विकासोन्मुख देशहरूमा ५ प्रतिशत भन्दा माथि छ । रुवान्डा र इजिप्टमा त यो दर ३० प्रतिशतको हाराहारीमा छ । खाद्यान्नको अर्काे विश्वव्यापी मूल्यवृद्धि टड्कारो देखिइसकेको छ ।

वास्तविक समस्या यो हो कि विश्वका प्रमुख कृषि व्यवसायी फर्महरूको बढ्दो बजार शक्तिले खाद्यान्नको मूल्यमा चरम परिवर्तन हुने जोखिमलाई बढाइरहेको छ ।

रासायनिक मलखादको क्षेत्रलाई विचार गर्नुहोस् । सन् २०२०–२०२२ मा मलखादको मूल्यको तीन गुणा वृद्धि (जसले खाद्यान्नको मूल्य बढायो) हुनुमा नाइट्रोजनयुक्त मलखादको उच्च लागतले भएको थियो । प्राकृतिक ग्यासको बढ्दो मूल्यकै कारण नाइट्रोजनको मूल्य बढेको यथार्थ हामीबीच छ । तर ग्रेन–आइएटिपीको नयाँ तथ्याङ्कले के देखाएको छ भने प्रमुख फर्महरूले उत्पादन लागत कभर गर्नको लागि मलखादको आवश्यक भन्दा धेरै मूल्य बढाएका थिए । तिनीहरूको सञ्चालन मुनाफा ३६ प्रतिशत सम्मले बढ्यो, जबकी उनीहरुले कम खाद्यान्न बेचेका थिए । लाभको अनुपात युक्रेन युद्ध सुरु हुनु अघिको तुलनामा तीन गुणा बढी थियो, र एसएन्डपी ५०० ले अनुमान गरेभन्दा १३ प्रतिशत भन्दा बढी यी फर्महरूको नाफा गरेका थिए ।

यस्तो किसिमको लाभ प्राप्त गर्न सहज थिएन, तर अधिकांश व्यापारी र कम्पनीहरूले आपूर्तिमा कडाई गर्दैै कम खाद्यान्न बजारमा पठाएका थिए । सन् २०२२ को मध्यमा आर्चर–डेनियल्स–मिडल्याण्ड (एडिएम) नामको बहुराष्ट्रिय कम्पनीले सबैभन्दा उच्च त्रैमासिक नाफा रेकर्ड गरेको थियो । यसको प्रतिद्वन्द्वी कारगिलले पनि रेकर्ड नाफा कमाएको थियो, र यस कम्पनीको कूल आम्दानी २३ प्रतिशतले बढेको थियो ।

खाद्यान्न र मलखादका क्षेत्रमा बढ्दो कर्पोरेट एकाग्रताले यस्तो नाफा कमाउन सम्भव भएको हो । एडिएम र कारगिल चार वटा फर्ममध्ये दुई यस्ता फर्म हुन् जसले विश्व अन्न बजारको अनुमानित ७०–९० प्रतिशत हिस्सा नियन्त्रण गर्दछ । बन्ज र ड्रिफस समेत यी चार कम्पनीले संयुक्त राज्य अमेरिकामा नाइट्रोजन–फर्टिलाइजर उत्पादनको ७५ प्रतिशत र पोटास–फर्टिलाइजरको विश्वव्यापी बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।

दशकौंको मर्जर र एक्विजिसनहरू मार्फत, त्यस्ता फर्महरूले विश्व बजारको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा ल्याएर आपूर्ति श्रृंखलामा आफ्नो प्रभाव विस्तार गर्न सक्षम भएका छन् । अहिले फेरि बन्ज र भिटेरा कम्पनीबीच ३४ अर्ब डलरको सौदावाजीमा मर्जर हुन लागेको छ । ग्लेनकोरको मातहत रहने यस कम्पनीले विशाल अमेरिकी कमोडिटी बजार नियन्त्रणमा राख्नेछ । सोयाबीन र क्यानोला प्रशोधन र वितरणमा यस कम्पनीले अब एकाधिकार कायम गर्नेछ ।
प्रमुख कृषि व्यवसायी फर्महरू तेल बजारमा ओपेकको भूमिका जस्तै ठूलो आपूर्ति–व्यवस्थापन र मूल्य–निर्धारण शक्तिसम्पन्न हुन्छन् । तिनीहरूलाई सन् १९७० को दशक वा सन् २००८–११ का जस्ता आर्थिक मन्दीका उथलपुथलले केही प्रभाव पार्दैन किनभने मलखाद र खाद्यान्नको एकलौटी व्यापारबाट उनीहरुले मनग्य आम्दानी गरिरहेकै हुन्छन् । सन् २०२१ मा अमेरिकी नियामकमाझ विश्वकै सर्वाधिक ठूलो मलखाद उत्पादक कम्पनी न्युट्रिएनले बुझाएको प्रतिवेदनमा कच्चा बस्तुको लागत वृद्धि र कम बिक्री भएका कारण मूल्यवृद्धि गर्नु परेको उल्लेख गरेको थियो ।

विश्वका गरिबहरूका लागि, जसले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म खानामा खर्च गर्छन्, खाद्यान्नको मूल्यवृद्धिको प्रत्येक प्रतिशत बिन्दु निकै डरलाग्दो हुने गर्दछ । धेरै न्यून र मध्यम आय भएका देशहरूले ६० वर्षयता सबैभन्दा खराब ऋण संकटको सामना गर्नुको एउटा कारण खाद्यान्न र मलखादको लागि बढ्दो आयात लागत पनि हो ।

यस बीचमा, किसानहरूले खाद्यान्नको बढ्दो मूल्यबाट फाइदा लिन असमर्थ भइरहेका छन् । यसको खास कारण, ठूलो बजार शक्ति भएका ठूला फर्महरूले आपूर्ति गर्ने कृषि सामग्रीको लागत किसानले उत्पादन गर्ने वस्तुको मूल्यभन्दा पनि छिटो बढिरहेको छ । किसानको उत्पादनको मूल्य अहिले घट्दै गएको छ तर ब्याजदर वृद्धिका कारण बढेको ऋणको बोझले धेरै किसानहरू बाँच्न संघर्षरत छन् ।

युक्रेनमा रुसको हमलाले गहुँको मूल्य पुन: उकालो लाग्न थालिसकेको छ । यो स्पष्ट भएको छ कि खाद्यान्नको मूल्य बिना कुनै चेतावनी फेरि बढ्न सक्छ । थप झट्का आउनेमा कमै शंका छ । यदि केहि कम्पनीहरूले अझै पनि विश्वको खाद्य प्रणालीहरूमा यस्तो अत्याधिक शक्ति राख्छन् भने परिणामहरू जटिल हुने सम्भावना छ । त्यसैले सरकारहरुले अर्को संकट आउनु अघि नै प्रोत्साहन नीतिहरुमा परिवर्तन गर्नु आवश्यक देखिएको छ ।

कृषि व्यवसायीको अनुचित नाफामा कर लगाउन र जलवायु–उत्थानशील खाद्य प्रणालीहरूका कोषमा पुन: लगानी गर्न बाध्यकारी अवस्था सिर्जना गर्नु पर्दछ । कृषक समूहहरूले माग गरेअनुसार मलको मूल्यवृद्धिको सरकारी छानबिन पनि आवश्यक छ, साथै अत्यधिक मर्जर र एक्विजिसनलाई रोक्न प्रतिस्पर्धा नीतिहरूको बलियो कार्यान्वयनको आवश्यकता छ । सरकारहरूले एकाधिकार तोड्न गरिएका दशकौंदेखिका प्रयासलाई सार्थकतामा परिणत गर्न पनि जरुरी छ, र त्यो समय अहिल्यै हो । बन्ज–भिटेराको मर्जर हुँदै गर्दा खाद्य संकटबाट लाभ उठाउने कुरा सह्य हुँदैन भन्न सक्नु पर्दछ, र नियामक निकाय सचेत हुनु पर्दछ ।

जेनिफर क्लाप वाटरलू विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ भने फिल होवार्ड आइपेस–फूड प्यानेलका विज्ञ तथा मिसिगन स्टेट युनिभर्सिटीमा प्राध्यापक हुनुहुन्छ ।

स्रोत: प्रजेक्ट सिन्डीकेटबाट अनुदित