२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

बागलुङमा विवाहले फैलियो कोरोना

बागलुङमा विवाहले फैलियो कोरोना
अ अ+ अ-

गलकोट । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । 

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही दिनमै कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरि अस्पतालमा उपचारकै क्रममा रहेका बेला वैशाख २३ गते विवाह भोज गर्ने परिवारका मुख्य अभिभावकको मृत्यु भयो ।

परिवारका अन्य सदस्य पनि सङ्क्रमित भएका छन् । थप सहभागीको पिसिआर गर्दा ३१ जनाको स्वाब लिइएकोमा २५ जनामा सङ्क्रमण पुष्टि भयो । यसले सङ्क्रमण बढाउने कारण विवाह रहेको पुष्टिसमेत गर्दछ । अन्ततः कोरोनाकै कारण बडिगाडका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट बाबाको मृत्यु भएको एक सातापछि दुई छोराको सङ्क्रमणकै कारण मृत्यु भएको हो । वैशाखको दोस्रो साता आयोजना गरिएको विवाह भोजका कारण नै यस्तो घटना भएको स्थानीयवासीसमेत बताउँछन् । 

धौलागिरी अस्पतालमा उपचाररत बडिगाड–४ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भयो । मृतकका ८७ वर्षीय बुबाको यसअघि सोही अस्पतालमा वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उहाँकै परिवारको अर्को ५२ वर्षीय छोराको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा बिहीबार रातिनै मृत्यु भएको छ । यस्तै शनिबार परिवारकै सदस्य ५३ वर्षीया महिलाको समेत धौलागिरि अस्पतालमा मृत्यु भएको छ । 

अधिकांश सङ्क्रमित भिडभाडमा गएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएका काराण बडिगाड–४ मा अत्यधिक मात्रामा सङ्क्रमण दर बढेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताउनुभयो । यद्यपि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । यस क्रममै लापरवाही गरेको भन्दै विवाहमा धेरै जन्ती लगेपछि बागलुङ नगरपालिका–८ सिगानाबाट वैशाख २२ गते बेहुलाका बुबासहित जिल्ला प्रहरी कार्यालयले जन्ती गएको तीन सवारी नियन्त्रणमा लिएको थियो । सात जनामात्रै विवाहमा सहभागी गराउन पाइने व्यवस्था सरकारले गरेको छ तर दुलाहा पक्षले झण्डै ३०० जन्ती लगेको थियो । 

त्यसपछि सिगानामा केही मानिसमा कोरोना भाइरसको लक्षण देखिएकाले स्वाब सङ्कलन गर्दा ९० प्रतिशत विवाह, भोजभतेर तथा पूजाआजामा सहभागी भएकामा कोरोना देखिएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले बताउनुभयो । सिगानामा शनिबार आएको रिपोर्टअनुसार २६ जनाको परीक्षणमा १५ जनामा सङ्क्रमण फैलिएको छ । “जिल्लामा सङ्क्रमणको दर तीव्ररूपमा फैलनुमा विवाह, भोजभतेर तथा पूजाआजा हो”, जिसीले भन्नुभयो, “सरकारले मात्रै गरेर हुँदैन, नागरिक सचेत नभएसम्म समस्या हुन्छ, राज्यको नियम उल्लङ्घन हुँदा समस्या हुन्छ ।”

जिल्लाको ताराखोलामा समेत विवाह भोजकै कारण कोरोना बढी फैलिएको पाइएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर शुरु भएर सङ्क्रमण तीव्र फैलिन थालेपछि आगामी जेठ १५ सम्म निषेधाज्ञा गरिएको छ । कोरोना बढ्नुको मुख्य कारण सामाजिक संस्कारजन्य कार्य भएकाले अब सबै सचेत र गम्भीर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउनुहुन्छ । 

“कोरोना सङ्क्रमण फैलिँदो क्रममा छ, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनुस् भनेर बारम्बार निर्देशन र अनुरोध गरिरह्यौँ तर नागरिकले बेवास्ता र लापरवाही गर्दै भिडभाड हुने कार्य गरेकैले अहिले डरलाग्दो अवस्था आएको छ”, प्रजिअ कार्कीले भन्नुभयो, “अब जेठ १ गतेदेखि विवाह घरमै सीमित राख्न निर्देशन गरिएको छ, अटेरी गरेमा तुरुन्तै कारबाही गरिनेछ ।” रासस