२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँध र निकास नहुँदा डुबानको समस्या



अ+ अ-

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरका भुलई धुनियाको घर खोला तटबाट एकसय मिटरभित्र छ । बर्खाको समयमा दानव खोलाको बाढीले बर्सेनि घर डुबानमा पर्ने हुनाले उहाँलाई गाउँमा रहेको आश्रयस्थलमा बिताउनुपर्ने बाध्यता छ ।

दानव खोलाको बाढीले जग्गा कटान गर्दै खोला बस्तीतर्फ लम्किँदैछ । हजारौँ बिघा खेतीयोग्य जमीन कटान भएको छ । कैयौँ परिवार विस्थापित भइसकेका छन् । “बर्खासँगै हाम्रो दु:खका दिनको सुरुआत हुन्छ, बर्सातको रात त्रासमै बित्छ, बर्खाको मौसम सकिएपछि मात्र सुरक्षित महसुस गर्छौं”, ६५ वर्षीय भुलई धुनियाले भन्नुभयो, “बाबु–बाजेले भोग्दै आएको त्यो दु:खबाट हाम्रा सन्ततिले कहिले छुटकारा पाउलान् ?”

खोला किनारमा जम्मा दुई किलोमिटर बाँध र तटबन्ध निर्माण भए बाढीको समस्याबाट बस्ती र जग्गाजमिन जोगाउन सकिने सोही गाउँ बस्ने ८५ वर्षीय सोमइ मल्लाहको भनाइ छ । “धेरै पहिलाको कुरा हो, भरथापुर गाउँ उत्तर–दक्षिण सर्पाकारमा बगेको दानव खोलाको पश्चिमी तटमा थियो । गाउँ घेरेर सर्पाकार बगेको दानवले बाटो सिधा फेरेपछि घर–जग्गा गुमाउँदै हामी पूर्व भयौँ, कटान र डुबान अहिलेपनि उस्तै छ, अब कहाँजाने र,”, चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो ।

कूल ८८ घरधुरीका भरथापुरबासीको पीडा धुनिया र सोमइ मल्लाहकै जस्तो छ । उनीहरूका लागि दानव खोलाको बाढी र डुबानबाट जोगिन बाढी प्रतिकार्य तथा पुनर्लाभ परियोजनाले गाउँमा बनाइदिएको सुरक्षित आश्रयस्थल एकमात्र सहारा बनेको छ । जिल्ला समन्वय समिति रूपन्देहीबाट रु तीन लाख ५० हजार, परियोजनाको तर्फबाट विकास तथा प्रकोप व्यवस्थापन केन्द्र र कारितास नेपालको रु १४ लाख ६० हजार तथा स्थानीयको श्रमदानमा भरथापुरको रामजानकी मन्दिर हातामा २०७४ मा सो आश्रयस्थल निर्माण भएको हो ।

कोटहीमाई गाउँपालिका वडा नं १, २ र ५ को सिमाना दुइमोहान भन्ने ठाउँ दानो र तिनाउ खोलाको सङ्गमस्थल हो । दुवै खोला जोडिएको त्यो ठाउँबाट दानव खोलाको बाढीले बढी नै क्षति गर्ने गरेको स्थानीयवासी बताउँछन् । दानव खोलाबाट हुने कटान र डुबान भरथापुरवासीका लागि नियमित र निकै पुरानो व्यथा बनेको छ । भरथापुर गाउँको पश्चिम किनारामा दानव खोला, उत्तर, पूर्व र दक्षिण तर्फबाट (दानवले वर्षौं पहिला बाटो फेर्दा छोडेको) छुटनवारा नालाको पानीले घेरेर भरथापुर ‘समुद्र बीचको टापू’ जस्तै देखिन्छ । खोला उर्लेर चारैतिरबाट घेरेपछि खोज–उद्धार गर्नुपर्ने बाध्यता छ ।

सदिऔँदेखिको भरथापुरबासीकोे बाढी पीडा २०६६ देखि व्यापकरूपमा बढेको र जिल्ला विपद् व्यवस्थापन समिति रूपन्देहीले पनि विपत् पूर्वतयारी प्रतिकार्य योजनामा बाढीको जोखिमपूर्ण गाउँका रूपमा उल्लेख गरे पनि राहत वितरण र उद्धारबाहेक समस्या समाधानको काम हुन नसकेको नमूना एकीकृत विकास परिषदका ज्ञानु पौडेलले बताउनुभयो । “बाढीको पीडामा राहतका प्याकेज बोकेर दर्जनौँ सङ्घसंस्थाको ताँती लाग्छ, तर राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्था समेतले राम्ररी चिनेको भरथापुरको बर्सेनि व्यथालाई स्थायी समाधानको उपाय कतैबाट छैन ।”

लुम्बिनी साँस्कृतिक नगरपालिका–२ का पूर्व वडाध्यक्ष रमेश निसादले गुनासो पोख्दै भन्नुभयो, “हामीलाई राहत होइन, सुरक्षित बासको उपाय चाहियो ।” सामुदायिक विपद व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी पनि भरथापुरमा राहतका प्याकेजभन्दा अग्लो बाँध र तटबन्धको आवश्यकतामा जोड दिनुहुन्छ ।

नगरपालिकाले भरथापुरमा कटान र डुबान नियन्त्रणका लागि सङ्घ र प्रदेश सरकारसँग स्थायी समाधानका लागि निरन्तर समन्वय गरिरहेको नगर प्रमुख सजरुद्दीन मुसलमान बताउनुहुन्छ । सोही क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले निर्वाचनमा पनि बाढीको समस्या समाधान गर्ने एजेण्डामा प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै भन्नुभयो, “दानव खोलाको कटान र डुबान नियन्त्रणका लागि खोलामा तटबन्ध र बाँधको योजनालाई कार्यान्वयन गर्न पहल गरिरहेका छौँ ।” तत्काल सो क्षेत्रमा बाढीका कारण हुनसक्ने क्षति कम गर्न आवश्यक तयारी थालिने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले दानवले बर्सेनि लाखौँको क्षति गर्दै आएकोतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा दानव–तिनाउ खोलाबाट हुने विपद् न्यूनीकरणका लागि अग्लो बाँध र तटबन्धका साथै अन्य सहायक खोला नालामा सरसफाइ तथा पानी निकासको प्रबन्ध मिलाइने उहाँको भनाइ छ । रासस