• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली



राँझा । सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे बन्द हुने गरेको छ । सीमानाका बन्द भएपछि भारतीय बजार रुपैडिहामै अलपत्र परिने भएकाले १० बज्नुअगावै सीमानाका पुग्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा परेर नेपालीले ज्यान गुमाउने गरेका छन् ।

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ ।

शव लिन घटनास्थल भारतको श्रावस्ती पुगेर फर्केका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं स्थानीय अगुवा नन्दलाल वैश्यले राति १० बजेनै जमुनाहा नाकामा पुग्न तीव्र गतिमा गाडी चलाउँदा सडकमा गाईसँग ठोक्किएर दुर्घटना भएको पाइएको बताउनुभयो ।

उहाँका अनुसार सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी तीव्र गतिमा आउँदै थियो । १० बजे सीमानाका बन्द हुनुअघिनै जमुनाहा पुग्छौँ भनेर परिवारलाई खबर गरेका थिएँ तर, सडकमा गाईसँग ठक्कर खाएपछि दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका छ जनाको दु:खद् निधन हुन पुग्यो ।

भारतका विभिन्न सहरबाट नेपालगञ्ज आउने राति १० बजेअघि नै जमुनाहा पुग्ने दबाबमा तीव्र गतिमा गाडी चलाउने गरेको वैश्यले बताउनुभयो । भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपाली सीमामा लुटिने गरेका छन् ।

श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा शनिबार राति गाईसँग ठोक्किँएर भएको गाडी दुर्घटनामा परी नेपालगञ्ज–११ सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको निधन भएको थियो ।

शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको थियो । एकै परिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका छ जनाको शव नेपालगञ्ज ल्याएर आइतबारनै दाहसंस्कार गरिएको छ । आइतबार साँझ नेपालगञ्जको समसानघाटमा दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

दाहसंस्कारमा हजारौँ नगरवासी सहभागी भएका थिए । घटनाको जानकारी पाएसँगै शनिबार रातिदेखिनै सदरलाइन त्रिभुवनचोक क्षेत्रमा स्थानीय सर्वसाधारणको भीड लागेको थियो । रासस