काठमाडौं । भारत सरकारको ममता बनर्जीलगायतका दुई मन्त्रीसहित चार जना पक्राउ परेका छन् । भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेर नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको बीबीसी हिन्दीले बताएको हो ।
पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र पक्राउ परेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो ।
बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको हो ।
तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
पश्चिम बङ्गालमा सन् २०१६ का विधानसभा चुनावअघि नारदा न्युजका सीईओ म्याथ्यु स्यामुएलले एक स्टिङ भिडियो सार्वजनिक गर्दै बङ्गालको राजनीतिमा हलचल ल्याइदिनुभएको थियो । त्यस भिडिओमा तृणमूल कांग्रेसका सात सांसद, तीन मन्त्री र कोलकाता नगर निगमका मेयर शोभन चटर्जी क्यामेराको सामु घुस लिएर एक नक्कली कम्पनीको कारोबारमा सहयोग गर्ने आश्वासन दिएको देखिएको थियो । फर्जी कम्पनीको प्रतिनिधिको रूपमा घुस दिने व्यक्ति अरू कोही नभइ म्याथ्यु स्यामुएल नै थिए ।
ममता बनर्जी र उहाँको पार्टीले आफ्नो छवि बचाउनका लागि यस स्टिङ भिडियोलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएका थिए । तर अब उच्च अदालतको सीबीआईसँग जाँचको फैसला र फेरि सर्वोच्च अदालतले त्यस फैसला सदर गरेपछि तृणमूल कांग्रेस केही हच्किएको छ ।











