चन्द्रशमशेरको कर्नेलले टेडो रुख देखाएर सिपाहीलाई सोधेछ ‘ रुख सोझो छ कि बाङगो ?’ भय र आस बोकेको सिपाहीले बहादुरीका साथ उत्तर दिएछ ‘ हजुरको आँखा फुटेको हो कि मेरो गर्दन चिलाएको हजुर रुख त टेडो छ ‘ नेतृत्व दृष्टिविहीन भएपनि कारिन्दाले दृष्टि गुमाउनु हुँदैन तब मात्र न्याय मर्दैन। यो हाम्रो कर्मचारीतन्त्रको संस्कृति हो। यो भय , त्रास र कटाक्ष भित्रको न्यानोपन र मित्रता अझैपनि निजामती सेवाभित्र छदैछ।
मान्छे ,प्रकृति, प्राणी सबैसँग हार्दिकता जोड्ने कुरा गर्छ। आत्मीयता बिनाको हार्दिकता मित्रता होइन। मान्छेले मान्छे संगको मित्रता चानचुने कुरा होइन । किनकि यही मित्रता भित्र प्रगति ,नतिजा ,आत्मीयता र विकास छ। अहिले प्रविधि र बजारसँग मान्छेको मित्रता बढेको छ। पुँजीवादी चिन्तन भित्रको व्यक्तिगत स्वतन्त्रता अहिले चरम उत्कर्षमा छ। हामीले यसलाई उपयोग गर्न सकेनौ।
हाम्रा सरकारी र निजी दुवै क्षेत्रका सेवा प्रवाहमा आत्मियता छैन ।केही मिनेट आँखा चिप्लिदा नाफा वा स्वार्थ पूरा हुन्छ भन्ने धारणा सरकारी र गैरसरकारी दुवै क्षेत्रमा छ। यसले जनता र सरकार बिचमा विश्वास घटाउँदै छ।। यो विश्वास संकामा परिणत हुनथालेपछि सबै सरकारी कामकाजमा जनताले विश्वास गर्दैनन्। त्यसैले अहिलेको प्रमुख काम जनता संगको मित्रता बढाउनु हो। यो कठिन छैन। तर स्वर्थ र लोभबाट सबै मुक्त हुन जरुरी छ।
निजामती सेवा , सेवा प्रवाह गर्ने सरकारको मेरुदण्ड हो। केन्द्रदेखि तल्लो स्तरसम्म नीति, कार्यक्रम ,निर्देशन, कार्यविधिको एकरूपता हुँदा निजामती सेवा नतिजामुलक हुन्छ। यो नौलो कुरा होइन। यिनै नीतिगत औजारको प्रयोगले निजामती सेवाका कर्मचारीलाई मित्रवत् बनाउँछ। तर अहिले एउटा कर्मचारीको विश्वास अर्कोलाई छैन। माथिल्ला नीतिगत निर्णय माथि पनि विश्वास नहुने वातावरण अहिले छ। किनकी पद , प्रतिष्ठा सुविधा र अवसर संगको मित्रता दीगो हुँदैन ।
एउटा कर्मचारीले आफूसँगको सम्बन्ध र मित्रता आफ्नो कार्यकालमा थाहा पाउँदैन। किनकि पदबाट अवसर साट्नेहरु बजारमा थुप्रै छन् ।झट्ट हेर्दा यो मित्रता प्रिय देखिन्छ। तर यस्तै मित्रताले कालान्तरमा थुप्रैको हानी गरेको छ। अहिलेका घटनाहरू यसैका उदाहरण हुन। राजनीतिसँग कर्मचारीको विश्वास हुन्छ।राजनीति भित्रको अयोग्यता कर्मचारीले खोज्दैनन् ।यो राजनीति कै विषय हो। नेतृत्व योग्य भएन भने लगाउन खोजेको मित्रवत् सम्बन्ध पनि अटुट हुँदैन। किनकि योग्य नेतृत्वले मात्र मित्रताको कडी बुझ्छ। त्यसपछि मात्र नतिजा दिन सकिन्छ । तर अहिले राजनीति र प्रशासन कौ बीचमा असल मित्रता छैन। दुबै आफ्नो योग्यतामा विश्वास गर्छन् । अहिले ठ्याक्कै नेपालको निजामती सेवा यहि अवस्थामा छ।
कर्मचारीसँग पद र प्रतिष्ठा त होला तर हामीले सम्झिने गरेका उदाहरणीय प्रशासकहरूले कानूनको स्वार्थमा मित्रता गाँसे । र यसैमा जनताको स्वार्थ जोडे। त्यसैले आज पनि उनीहरु प्रशासकको रुपमा प्रिय छन् ।अप्रिय निर्णय गर्दैमा हामी अप्रिय बन्दैनौ। विगतका धेरै अप्रिय निर्णयले आज हाम्रो साख जोगाएको छ त्यसैले हाम्रो मित्रता उत्तरदायित्व र जिम्मेवारीसँग हुनुपर्छ। पद प्रतिष्ठासँग होइन । तर आजको व्यक्तिवादी समाजले मित्रतामा दूरदर्शिता खोज्न छाडेको छ।
अहिलेको कर्मचारीतन्त्र यही समाजको उपअङ्ग जस्तै छ ।जस्तो देश र भेष छ त्यस्तै त्यहाँको कर्मचारीतन्त्र हुन्छ भन्ने व्यवस्थापनको संगठनात्मक व्यवहारको सिद्धान्तले यहि भन्छ।
सहभागिता, समन्वय, नियन्त्रण, निर्देशन, निर्णय प्रक्रिया , मर्का सुनुवाई , मित्रता व्यवस्थापनका टुल्सहरु हुन्। निजामती सेवा ऐनमा यी विषय प्रस्ट छन् ।तर कहिलेकाहीँ एउटाले अर्कालाई पछार्न यी साधन प्रयोग हुने गर्छन्। खोट भेट्न आफ्नै नजिकको साथीको दोहन गर्ने काम मित्रता होइन । गफ गाफमा अति विश्वासिलो देखिने तर स्वार्थ पूर्ति गर्न प्रयोग गर्नेहरु पनि यही भित्र छन । यो हाम्रो कर्मचारी सँस्कृतिको सुन्दर पक्ष हो।
यो सुन्दर पक्षले सुशासन कायम गर्न सहयोग पुर्याउँदैन। यस्का बाधाहरु थुप्रै होलान् ।तर सबैभन्दा ठूलो बाधा स्वार्थ र प्रवृत्ति नै हो ।जबसम्म यो स्वार्थ र प्रवृत्तिलाई नतिजा सम्म गाँसिदैन। निजामती सेवाभित्र मित्रता व्यवस्थापन एउटा आदर्श मात्र बन्छ।