विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएका छन् । सोमबार राति आठ बजे अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि चार जनाको समूहले कुटपिट गरेको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । राईका अनुसार सोमबार राति नै उनीहरू पक्राउ गरिएको हो ।
सोमबार राति पेट दुखेर बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका निश्चल र अनिलले चिकित्सकलाई गालीगलौज गर्दै कुटपिट गरेको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिनुभयो । उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेको देवको भनाइ छ ।
आक्रमणबाट डा .रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको उनले जानकारी दिए । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको छ ।








