हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदानको नतिजा सार्वजनिक भने भर्चुअल माध्यमबाट आजै गरिने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएपनि करिब सवा नौ बजेबाट मात्रै मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म गरिने छ । आज हुने उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

(मतदान केन्द्रमा गृहमन्त्री रामबहादुर थापा (बादल) तस्बिर स्रोतः किरण भट्टराईको फेसबुकबाट)
स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा मतदानस्थल बनाईएको हो ।

(मतदान केन्द्रमा गृहमन्त्री रामबहादुर थापा (बादल) तस्बिर स्रोतः किरण भट्टराईको फेसबुकबाट)
निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी छन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् । प्रतिस्पर्धी उम्मेदवारहरु भने भोट हाल्न पाउँदैनन् ।








