४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँः प्रधानमन्त्री प्रचण्ड

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँः प्रधानमन्त्री प्रचण्ड
अ+ अ-

गोरखा । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गर्नुभयो । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चिततासमेत बढेर गएको छ ।

प्रधानमन्त्री प्रचण्डले आम मानिसको मनमा रहेको जिज्ञासालाई निरुपण गर्दै भन्नुभयो, “केही समयभित्रै आयोजनाको शिलान्यास हुन्छ, अब कुनै पनि बाहानामा ढिलाइ हुँदैन र गरिँदैन ।”

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, धादिङ र गोरखाका प्रतिनिधिसभा सदस्य, मुख्यसचिव, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोली लिएर यहाँ आइपुग्नुभएका प्रधानमन्त्रीले आयोजनाका बारेमा अब कुनै पनि द्विविधा बाँकी नरहेको बताउनुभयो ।

“लागातारको छलफलपछि हामी एउटा निष्कर्षमा पुगेका छौँ । आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने सङ्कल्प गरिएको छ । ऊर्जा मन्त्रालयको मात्रै नभई अर्थ मन्त्रालयदेखि अन्य सरोकारवाला मन्त्रालयसँगको छलफलपछि अब निष्कर्षमा पुगिएको छ”, उहाँले भन्नुभयो ।

जलाशयुक्त आयोजना भएकाले बूढीगण्डकी आफैँमा महँगो भए पनि बहुउद्देश्यीय हुनुका कारण नाफामूलक बन्ने पनि उहाँको भनाइ छ । आयोजना निर्माणका लागि सबै अध्ययन प्रतिवेदन तयार भइसकेको छ । परियोजना निर्माणका लागि चाहिने लगानी व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य गरी तयारी गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

“यो आयोजना ‘रेडी टु गो’ आयोजना हो । आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन हामीले तयारी गरिरहेका छौँ । अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न हामीलाई छुट छैन”, उहाँले भन्नुभयो, “आयोजना निर्माणको काम अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडलगायत आयोजनासँग सम्वद्ध सबैलाई यसै कार्यक्रममार्फत निर्देशितसमेत गर्दछु ।”

मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको भनाइ छ । एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको उक्त जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

जलविद्युत्का साथै पर्यटन प्रवर्द्धन, माछापालन, तल्लो तटीय क्षेत्रको समग्र विकासका दृष्टिले समेत यो आयोजना महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ । यस आयोजनाले हिउँदमा हुने विद्युत् सङ्कटबाट देशलाई मुक्त गर्ने, ऊर्जा तथा पर्यटन विकासलाई सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने, वस्तु तथा सेवा क्षेत्र उत्पादनमा वृद्धि गरी देशको आर्थिक गतिविधि बढाउने, माछापालनलगायतका बहुआयामिक व्यवसाय जोडेर राष्ट्रिय आय वृद्धि गर्ने तथा देशको मध्यभागको आयोजना भएकाले राष्ट्रिय प्रसारण लाइनका लागि कम लगानी लाग्नेलगायतका सम्भावना बोकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

बूढीगण्डकी जलविद्युत् कम्पनीका अनुसार सो आयोजना प्रभावितलाई हालसम्म रु ४३ अर्ब बराबरको मुआब्जा वितरण गरिएको छ । त्यसमा घर जग्गातर्फ रु ३४ अर्ब ३० करोड र बोट–बिरुवालगायतका हकमा रु छ अर्ब ७० करोड बराबर छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजनालाई जलविद्युत्मा मात्रै सीमित नगर्ने सोचसहित बृहत्तर विकासको अवधारणामा अगाडि बढाउन प्राधिकरण बनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा नै आयोजनाका लागि विकास समिति र प्राधिकरणको अवधारणा ल्याएको बताउनुभयो ।

आयोजनालाई बहुपक्षीय लाभ प्राप्त हुने, बेरोजगारीको समस्या समाधान गर्ने र समग्र मुलुकका साथै आयोजना प्रभावितको समेत हित हुने गरी अगाडि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले आयोजनालाई बहुउद्देश्यीय प्रकृतिबाट अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले आयोजना प्रभावितको मनमा रहेको आशङ्का सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले आयोजना प्रभावितका बाँकी रहेका माग सम्बोधन गरी शीघ्र निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नुभयो । आयोजना अगाडि बढाउने तत्परता देखाउनुभएकामा उहाँले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभयो । प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले राज्यको ठूलो लगानी भइसकेको तथा राष्ट्रिय गौरवसमेत जोडिएकाले तत्काल निर्माण सुरु गरिहाल्नुपर्ने बताउनुभयो । सांसद राजेन्द्र बजगाईँले आयोजनाबाट डुबानमा पर्ने स्थानीय मठमन्दिर, पार्टीपौवा तथा स्थानीय संस्कृतिको संरक्षण गर्नेतर्फ पनि आयोजनाले ध्यान दिनुपर्ने बताउनुभयो ।

धादिङ र गोरखाको सीमा भएर बग्ने बूढीगण्डकी नदीलाई मलेखुस्थित पृथ्वीराजमार्गबाट दुई किलोमिटर पश्चिममा कुल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ । त्यसबाट माछापालन, पर्यापर्यटनको विकास तथा स्थानीयवासीलाई विभिन्न रोजगारीसमेत उपलब्ध हुन जाने बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत् श्रेष्ठको भनाइ छ ।

कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय गौरवको एवं बहुउद्देश्यीय प्रकृतिको आयोजना भएकाले यसलाई सरकारले छिट्टै अगाडि बढाउने विश्वास दिलाउनुभयो । बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका लोड सेन्टर नजिकको सो आयोजना आफैँमा महत्त्वपूर्ण रहेको छ ।

सरकारले विसं २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी लगानी कि विदेशी भन्नेमा आवश्यक निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पुँजी रहने कम्पनी स्थापना गरेको थियो । कम्पनी दर्ता भए पनि पछिल्लो एक वर्ष थप तयारीका लागि व्यतित भएको बताइएको छ । रासस