काठमाडौं । आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा रिट लिएर जाँदैछन् । प्रतिनिधिसभा विघटनको विपक्ष र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको पक्षमा रहेका विपक्षी दलहरु आज सर्वोच्च अदालत जाने भएका हुन् ।
हिजो (आइतबार) नै सर्वोच्च अदालतमा जाने तयारीमा रहेका विपक्षी गठबन्धन एमालेका माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर जुट्न नसकेको र अन्य तयारी पनि नपुगेको भन्दै सर्वोच्च जान सकेको थिएन् । तर आज अदालत खुल्नासाथ रिट पेश हुने जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक रिट दिन लागेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनले सामुहिक रुपमा रिट दायर गर्न लागेका हुन् ।











