काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाको तुलनामा उपत्यका बहिरका जिल्लाहरूमा कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्यन मन्त्रालयले जनाएको छ।
तत्थ्यांकको आधारमा काठमाडौं उपत्यकामा बढी संक्रमित देखिए पनि बाहिरी जिल्लामा परिक्षण गरिएको मध्ये धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किदाँ अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन बस्न आग्रह गरिएपनि यात्रुहरूले पालना नगर्दा गाउँमा संक्रमितको संख्या धेरै देखिन थालेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा समेत सर्वसाधारणले उचित रुपमा पालना नगरेको हुँदा अपेक्षा अनुरुप संक्रमण दर नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताउनुभयो।
डा. पौडेलले अहिले काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कैलाली, चितवन, दाङ, रुपन्देही लगायतका १० जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै थप सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।








