• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छः मुख्यमन्त्री पाण्डे



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताउनुभएको छ ।

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताउनुभयो । सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उहाँले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताउनुभयो ।

“गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।”

मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताउनुभयो । “सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन”, उहाँले भन्नुभयो, “नकरात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।” युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।

रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ठयारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिनुभयो । रासस