२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजे: सभापति लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको छ ।

आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको हो ।

उहाँले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताउनु भयो । उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सदन तीन नेताको होइन । सदन प्रतिपक्षको हो अझ बढी । सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी गर्नुपर्नेछ । उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो । नमिल्दाखेरी संसद नचल्ने भयो । संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भुमिका रहन्छ । संसदलाई संसदजस्तो बनाउनुपर्छ । सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन संसद । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो । पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो । त्यतिखेर पनि हामी चुपचाप बस्यौँ । ठिकै छ भनिरह्यौँ । तर यो गर्न पाइँदैन । यो गलत हो । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ । जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन् । सरकारले एक त बिजनेश नै दिन सकिरहेको छैन । सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने ? जे मुद्दा छ संसदमा लिएर आउने । संसदमा कुरा गरौँ ।’

उहाँले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताउनु भयो । आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनु भयो । उहाँले आफूहरु संसद सुचारु रुपमा चलोस् र प्रधानमन्त्रीले संसदबाट जवाफ दिनुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो । यसको पक्षमा हामी थियौँ । सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ? हामी सिरियस छौँ चाहीँ भन्ने त्यो अन्तिम दिनमा ल्याउनु के जरुरी थियो ? संसद त विभिन्न कारणले अवरुद्ध हुन पनि सक्ला । अन्तिम दिनमा ल्याइसकेपछि त्यो जिरोमा जान्छ । त्यसलाई पनि प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमा अगाडी लिएर जान सकिन्छ । देखाउनका लागि जनप्रिय बन्नका लागि हामीले ल्यायौँ नि मिटर ब्याजको लागि भन्ने अनि प्रतिपक्षले गर्न दिएन भन्ने ? सबै प्रतिपक्ष एउटै होइनन् । धेरै प्रतिपक्ष छन् । हामी आफ्नो मुद्दामा छौँ । कहिलेकाही प्रतिपक्षका बीच कमन मुद्दाहरु हुन्छन् ति अलग कुरा हुन् । हामीले अहिले के भनेका हौँ भने संसद सुचारु रुपमा चलोस् । प्रधानमन्त्रीले जवाफ दिनुपर्‍यो । प्रधानमन्त्रीले अत्यन्त गम्भिर विषय उठाउनु भयो । यो अत्यन्त अशोभनिय विषय भयो ।’

सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताउनु भयो । उहाँले रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताउनु भयो ।