विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेसँगै नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राखेका थिए ।
९३ सदस्यीय प्रदेश सभामा कार्कीले बहुमतका लागि आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्य उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत तथा विपक्षमा ४३ मत खस्यो । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका थिए । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद कार्कीको पक्षमा छन् । अर्कोतर्फ कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
योसँगै अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।