• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

प्रतिनिधिसभाको शुन्य समय: स्थानीय तहका स्वास्थ्यकर्मीहरुका तलवको सुनिश्चितता गर्न माग



तस्बिर: रासस

काठमाडौँ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालिन उच्चमावि) का शिक्षकहरुको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभयो । उहाँले शिक्षकहरु आन्दोलित भएकाले उनीहरुको मागको सम्बोधन गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उच्च माध्यामिक शिक्षा ऐन २०४६ ले व्यवस्था गरे अनुसार देशभरमा २०४९ सालमा उच्च माध्यामिक शिक्षा सञ्चालन भयो । उच्च माध्यामिक शिक्षा अन्तर्गत अहिले २ हजार शिक्षकहरु शिक्षक दरबन्दीमा काम गरिरहेका छन् । ४ हजार शिक्षकहरु राहतमा काम गरिरहेका छन् । ०७२ सालको संविधानले उच्च माध्यामिक शिक्षालाई माबि तहमा समायोजन गर्ने काम गर्‍यो ।’

‘तर ०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका शिक्षकहरुको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको हुनाले आज देशभरका पहिलेका उच्च माध्यामिक तहको शिक्षकहरु आन्दोलनमा छन् । म आग्रह गर्न चाहन्छु शिक्षकहरुलाई आन्दोलन गर्ने अवस्था भन्दापनि संघीय शिक्षा ऐनमा उनीहरुको बारेमा के व्यवस्था गरिएको छ, शिक्षकहरुलाई उचित व्यवस्थापनका लागि ध्यान दिनका लागि म शिक्षा मन्त्रालयसँग अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले देशका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरुले महिनौँदेखि तलव पाउन नसकेका भन्दै उनीहरुलाई तलवको सुनिश्चितता गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘२ हजार भन्दा बढी कर्मचारीहरु ३१३ पालिकामा स्वास्थ्यकर्मीहरु विभिन्न पदका छन् जसले ३ देखि १३ महिना तलव पाएको अवस्था छैन । अविलम्ब ति स्वास्थ्यकर्मीहरुले तलव पाउने अवस्थाको सुनिश्चितता गरियोस् ।’

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदको यहि अधिवेशनबाट पारित गर्नुपर्ने बताउनु भयो । त्यस्तै संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण ऐनहरुलाई पनि यसै अधिवेशनमा पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधयक टेबुल गरिसकेको छ । हामी अर्को अधिवेशन नकुरीकन यो कामलाई पुरा गरौँ । यो ज्यादै संवेदनशील र महत्वपूर्ण जिम्मेवारी हो । साथै संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण ऐनहरुलाई समेत हामी अर्को अधिवेशन नकुरीकन सम्बन्धित पक्ष, मन्त्रालय र सरकारले सदनमा टेबुल गरोस् ।’

प्रतिनिधि सभा सदस्य मेनकाकुमारी पोखरेलले किसानहरुले मल पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले बिचौलिया र सहकारीहरुले किसानलाई मल नदिने गरेको भन्दै उनीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य मंगलप्रसाद गुप्ताले संघीय निजामती सेवा ऐन तत्काल ल्याएर लागू गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले विद्युतको अनियमितता हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रणकुमारी बलम्पाकी मगरले अनलाइनमार्फत घर–घरमा पासपोर्ट पुर्‍याउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले गायक प्रकाश सपुतमाथि रोमनियामा बोतल प्रहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रमा कोईराला पौडेलले जुम्ला हिमा गाउँपालिकाका मायालाल परियारको मलेसियामा निधन भएको भन्दै उहाँको बीमा लगायतको सुविधासहित पार्थिव शरिर नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रञ्जुकुमारी झाले मनशुनबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूलाहरुलाई समात्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘ललिता निवास जग्गा प्रकरणमा उपत्यकावासीको चासो सानो माछा समातियो ठुला माछा समातिन्छन् कि समातिन्न भन्नेमा चिन्ता छ । ८ आना जग्गा घुस खाने जग्गा फिर्ता दिएर उन्मुक्ति पाउने कि नपाउने ? प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा सदस्य रामकुमार राईले भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता नपाउँदा नपाएको भन्दै दुवै किस्ता दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले अतिरिक्त हुलाकका ११ हजार कर्मचारीलाई रोजगारीबाट मुक्त गरिएको भन्दै उनीहरुलाई सोही पदमा कायम राख्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणका आरोपित सबैलाई पक्रन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठुला चार आना, आठ आना, १६ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । भुरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस् । जलहरी प्रकरणमा दुईवटा मुचुल्का तयार पारिएको देखियो । १३ जनाको नाम स्वर्ण अक्षरमा लेखिएको सूचना प्राप्त भयो । तर केही ड्राइभरहरु, कार्यालय सहयोगीहरु, प्रधानमन्त्रीका र मन्त्रीका पिएसओहरु छुटेको समाचार आएको छ । क–कसको लेख्नुपर्ने हो ? सञ्चारमन्त्रीले हो कि पर्यटन मन्त्रीले हो लेख्ने व्यवस्था मिलाइयोस् । सबैको नाम नछुटोस् ।’

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले दाइजो पीडितहरुको उजुरी हेर्न र दोषि उपर कारबाही गर्न गृह मन्त्रालयमा हेल्पलाइन डेस्क राख्न माग गर्नुभयो । उहाँले उजुरीहरु माथि फास्टट्रयाकबाट कारबाही गर्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले कृषकहरुलाई मलखादको अभाव भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले वर्षायाम्मा तराईमा बाढी आउनेतर्फ सचेत हुँदै सुरक्षाका लागि चाहिने सामग्रीहरुको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सरकारले जग्गाको कित्ताकाट रोकिएको अवधिमा भूमाफिया र जग्गा दलालमार्फत् जग्गाको कित्ताकाट भएको भन्दै सो उपर छानविन गरी दोषिउपर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कित्ताकाट रोकिएको अवधिमा भुमाफिया र जग्गा दलालमार्फत् सयौँ बिगाहा कित्ताकाट भएको र संस्थागत भ्रष्टाचार भएको भन्ने आएको छ । घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दछु ।’

उहाँले भू–उपयोग निति बने नबनेको सम्बन्धमा पनि सरकारको जवाफ माग गर्नुभयो ।